images

दक्षिणी अस्ट्रियाको विद्यालयमा बन्दुकधारीको आक्रमण, दश जनाको मृत्यु

काठमाडौं । दक्षिणी अस्ट्रियाको ग्राज शहरको एक माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेहरूमा संदिग्ध आक्रमणकारीसहित धेरै विद्यार्थी रहेका ग्राजका मेयर एल्के काहरलाई उद्धृत गर्दै बेलायती अखबार द गार्जियनले जनाएको छ । ग्राजका मेयर काहरले यो गोलीकाण्डलाई अस्ट्रियाको युद्धपछिको इतिहासमा सबैभन्दा घातक आक्रमण भनेका छन् ।

स्थानीय समय अनुसार बिहान १० बजेतिर एक बन्दुकधारीले विद्यालयको दुई वटा कक्षाकोठमा गोलीबारी शुरू गरेका थिए । गोलीबारीमा अन्य धेरै जना घाइते भएका खबर छ तर सङ्ख्या उल्लेख भएको छैन । अस्ट्रियाका चान्सलर क्रिस्चियन स्टकरले गोलीकाण्डले दिएको पीडा र शोकका लागि कुनै शब्द नभएको बताएका छन् ।

यसैबीच प्रहरीले घटनास्थललाई सुरक्षित पारिएको र नागरिकलाई थप खतरा नभएको पुष्टि गरेको खबरमा उल्लेख छ । अमेरिकाको तुलनामा युरोपमा विद्यालयमा गोलीकाण्डका घटनाहरू धेरै दुर्लभ छन् तर पछिल्ला वर्षहरूमा युरोपका विद्यालय र विश्वविद्यालयहरूमा आक्रमणका घटना दोहोरिइरहँदा चिन्ता थपिएको छ ।