
काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन् ।
फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउन साइतको आवश्यकता पर्दैन । हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।
गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका छ जना ब्राह्मणले ल्याउने परम्परा छ । जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।
राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको उपस्थिति रहने गरेकोमा गणतन्त्र स्थापनापछि संस्कृति मन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।
यस वर्षको फूलपाती सोमबार अपराह्न साँढे चार बजे भित्र्याइने कार्यक्रम छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री काठमाडौंका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई निमन्त्रणा गरिएको दरबार हेरचाह अड्डाले जनाएको छ ।