images

दसैँ टीकाको भोलिपल्ट नेपालमा अति भारी वर्षाको सम्भावना

काठमाडौं । दशैंको टीकाको भोलिपल्टदेखि नेपालमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले अनुरोध गरेका छन् ।

यस वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति हुने सम्भावना छ । मौसम पूर्वानुमानमा प्रयोग गरिने तीनवटै मोडेलहरुले अक्टुबर ३ अर्थात् असोज १७ गते शुक्रबारदेखि सुरु हुने प्रणालीको असरले नेपाल र छिमेकी देशहरुमा भारीदेखि अति भारी वर्षा हुने संकेत गरेका छन् ।

असोज १७ गते शुक्रबारदेखि पूर्वी नेपालबाट त्यसको प्रभाव सुरु हुन्छ । असोज १८ र १९ गते यसको प्रभाव अझ बढी देखिन्छ । त्यसको असरले कुनै–कुनै स्थानमा भारीदेखि अति भारी वर्षा गराउने प्रक्षेपण छ ।

असोज १९ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ । नेपालमा मौसमको भविष्यवाणी गर्ने सरकारको आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले पनि विशेष बुलेटिन जारी गर्दै असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभाव भारतको ओडिसाका भू–भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने छ । त्यसले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गर्ने छ । र, असोज १७ गते (एकादशी) का दिनबाट खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ ।

यसको असरले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

असोज १८ गते (द्वादशी)को दिन पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस दिन कोशी, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

असोज १९ गते (त्रयोदशी) को दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस दिन कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।