images

दुई वर्षको प्रतिक्षापछि ग्वार्को फ्लाइओभर तयार, असार ६ गते प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । विगत केही वर्षदेखि दैनिक ट्राफिक जामको पर्याय बनेको ग्वार्को चोक अब सहज आवागमनको केन्द्र बन्ने भएको छ किनकी, ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा सवारीसाधन चल्न अब चार दिन मात्र बाँकी छ ।

ग्वार्को क्षेत्र लामो समयदेखि चोकमा ट्राफिक जाम, संकुचित सडक र व्यवस्थापन अभावका कारण काठमाडौं–ललितपुर र भक्तपुर जोड्ने मुख्य मार्गको रूपमा अत्यन्त दबाबमा थियो । यस समस्याको दीर्घकालीन समाधानका रूपमा ग्वार्को फ्लाइओभरको अवधारणा अघि सारिएको हो । फ्लाइओभरको मुख्य संरचनाको काम सकिएसँगै असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने तय भएको छ ।

करिब ८०० मिटर लामो र १० मिटर चौडाइको यो फ्लाइओभर अत्याधुनिक इन्जिनियरिङ प्रयोगमार्फत निर्माण गरिएको हो । रातमा दृश्य सौन्दर्य थप्न सौर्य उर्जामा आधारित स्मार्ट लाइट, सिसिटिभी निगरानी र डिजिटल ट्राफिक संकेत जडान गर्ने काम अन्तिम चरणमा पुगेको सडक विभागअन्र्तगतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराही बताउँछन् ।

यो आयोजनाको ठेक्का इन्जिनियरिङ प्रोक्युमेन्ट एण्ड कन्स्ट्रक्सन (इपिसी) मोडलको हो । इपिसी मोडलमा ठेकेदार स्वयमले डिजाइन गरी निर्माण गर्ने गर्दछ । इपिसी मोडलमा विविध कारण लागत बढे पनि यसमा ठेकेदार जिम्मेवार हुनुपर्ने भएकाले ग्वार्को फ्लाइओभरको लागत पूर्वनिर्धारित १७ करोड ६ लाख ८८ हजार नै रहने भएको छ ।

साथै, दुई वर्ष लामो प्रतीक्षापछि, राजधानीको यो प्रमुख फ्लाइओभर अन्ततः प्रयोगका लागि तयार भएको छ । लामो समयको असहज अवस्था सहेर अन्ततः यो परियोजना सफल बनेपछि यात्रुलाई निकै सहज हुनेछ ।

ग्वार्को फ्लाइओभर केवल एक पूर्वाधार मात्र होइन, यो ललितपुरको शहरी जीवनशैलीमा ठुलो परिवर्तन ल्याउने परियोजना हो । उद्घाटनपछि यसले यात्रुको समय बचत, सवारी चापको व्यवस्थापन, र आर्थिक क्रियाकलापमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।