
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जाने गरी भएको राजावादीहरूको प्रदर्शनका मुख्य योजनाकारका रूपमा हिरासतमा रहेका दुर्गा प्रसाईंले भीडलाई नउकासेको बयान दिएका छन् ।
गत चैत २८ गते भारतको आसामबाट पक्राउ परेका उनीविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले विभिन्न पाँचवटा अभियोग लगाएको छ । प्रसाईंले जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफ्नो जीवनकालमा पाँच पटक भेटेको बताएका छन् ।
प्रसाईंसहित ८ जनालाई आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा चलाइएको छ । त्यसैगरि राज्यविरुद्धको कसुरमा पनि प्रसाईंलाई मुद्दा चलाइएको छ । पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरी भएको तीनकुनेको हिंसात्मक घटनामा सरकारी वकिलको कार्यालयले पेश गरेको अभियोग पत्रमा प्रसाईंले पूर्वराजासँग पटक पटक भेट भएको बताएका हुन् ।
उनले निजी सचिवमार्फत् चैत १४ गते राति पनि भेटेको स्वीकारेका छन् । चैत १४ गते राति निजी सचिव राजेश सिंहमार्फत् निर्मल निवास पुगेर आफूले करिब २ घण्टा संवाद गरेको पनि उनले उल्लेख गरेका छन् । पूर्वराजा शाहसँगको भेटपछि उनी राजावादी आन्दोलनका जनकमान्डर भएका थिए ।
प्रसाईंमाथि राज्यविरुद्धको कसुरको अभियोगमा पनि छ । उनले उक्त अभियोगको दोष राप्रपा नेताहरूलाई दिएका छन् । प्रसाईंले हुलभीडको समूहलाई आपराधिक कार्य गर्न उक्साउने र तोडफोड गर्न लगाउने सन्तोष सिलवाल र उनको समूह रहेको जिकिर गरेका छन् ।
प्रसाईंले मृतक पत्रकार सुरेश रजक र जाहेरवाला सुजन मगियासँग चिनजान, रिसइवी, लेनदेन र वादविवाद केही नरहेको बताएका छन् । उनले उनीहरूसँग कहिले नभेटेको पनि बताएका छन् । आफूले कसैलाई पनि उत्तेजित बनाई तोडफोड र आगजनी गर्न निर्देशन नदिएको बयान दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबरा र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका कारण भीड उत्तेजित भएको जिकिर उनको बयानमा गरिएको छ ।