images

पूर्व राज्यमन्त्री हत्या प्रकरणः एक जना नियन्त्रणमा

काठमाडौं । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या सम्बन्धमा सोधपुछ गर्न प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
गएराति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको गएराति हत्या भएको थियो ।

उनको हत्या भएको विषयमा सोधपुछका लागि रायकै घरमा काम गर्ने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवं एसपी रविन्द्रबहादुर सिंहले जानकारी दिएका छन् ।

प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएका ती व्यक्ति पनि सोही घरमा राति सुतेका थिए । प्रहरीका अनुसार ती व्यक्तिले राति नै झाको हत्या भएकोबारे आफन्तलाई जानकारी गराएका थिए ।

घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । राज्यमन्त्री रायको हत्यामा घरेलु हतियार प्रयोग भएको देखिन्छ । प्रहरीका अनुसर उनको टाउकोको बायाँतिर चोट लागेको छ । प्रहरीले उनको शव पोस्टमार्टमका लागि मलंगवा पठाएको छ ।

८० वर्षीय राय ३० वर्षअघि राप्रपाबाट भूमिव्यवस्था राज्यमन्त्री बनेका थिए । उनी परिवारसहित मलङ्गवा बस्ने गरे पनि बेलाबेला चन्द्रनगरमा रहेको पुरानो घरमा जाने गर्दथे ।

आइतबार मात्रै पुरानो घर पुगेको बेला उनको हत्या भएको प्रहरीले जनाएको छ ।