
काठमाडौं । सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
बुधबार सार्वजनिक लेखा समितिमा भएको झण्डै पाँच घण्टा लामो छलफलपछि समितिले पोखरा क्षेत्रिय विमानस्थल निर्माणका क्रममा भष्टाचार भएको निष्कर्षसहित अख्तियारलाई थप अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएको हो । राजेन्द्र लिङ्देन संयोजक रहेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेर प्रतिवेदन लेखा समितिलाई बुझाएको थियो । उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।
तत्कालीन आयोजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक प्रदीप अधिकारीसहित ८ प्राविधिक तथा कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन उपसमितिले सिफारिस गरेको थियो । उक्त प्रतिवदनसहित लेखा समितिले अख्तियारमा अनुसन्धान र कारबाहीका लागि लेखिपठाएको हो । सोही उपसमितिले तयार पारेको प्रतिवेदनसहित लेखा समितिले कारबाहीका लागि निर्देशन दिने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले बताए ।
पोखरा विमानस्थलसम्बन्धी उपसमितिले तयार पारेको प्रतिवेदनमा एकातिर विमानस्थलको निर्माण, ठेक्का प्रक्रिया र लागत बढाउँदा नीतिगत निर्णय गर्ने उच्चस्तरीय पदाधिकारी कसैको पनि नाम र जिम्मेवारी किटान गरेको छैन । बुधबार लेखा समितिले अख्तियारलाई निर्देशन दिने निर्णय गर्ने क्रममा समितिका सभापति पोखरेलले प्रतिवेदन अघि नबढाएको भन्दै आफूमाथि लागेको आरोपको खण्डन गरेका थिए । झण्डै पाँच घण्टासम्म चलेको लेखा समितिको बैठकमा सांसदहरुबीच नोकझोक र विवाद समेत सिर्जना भएको थियो ।