 
                                काठमाडौं । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जेठ १५ गते काठमाडौँको सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको छ ।
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका दिन जेठ १५ गते काठमाडौँलाई पार्टीको कब्जामा राख्ने गरी परिचलान हुन कार्यकर्तालाई निर्देशन दिएपछि राजावदीहरूको समितिले उनलाई ज्ञानेन्द्र शाहजस्तै सडकमा एक्लै हिँडेर देखाउन चुनौती दिएको हो ।
समितिले प्रधानमन्त्री ओलीबाट पटकपटक हिंसा भड्काउने अभिव्यक्ति आएको भन्दै ध्यानाकर्षण जनाएको छ । हिजो ओलीले राजावादी आन्दोलनलाई निस्तेज पार्न १५ गते दिनभर काठमाडौं नियन्त्रणमा हुनुपर्ने भन्दै एमाले पंक्तिलाई हिजो निर्देशन दिएका थिए ।
आन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति निकाल्दै तीनकुनेको प्रदर्शनअघि पनि प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई राजसंस्थावादीलाई ‘बाघले झम्टिएजस्तो झम्टिनू’ भनेको स्मरण गरेका छन् । राजसंस्था पुनस्र्थापनाको आन्दोलन शान्तिपूर्ण हुने भन्दै अशान्ति मच्चाउन खोजिए सत्ताधारीहरूलाई नेटो कटाउने शक्ति जनतासँग रहेको विज्ञप्तिमा चेतावनी दिएको छ ।


 स्पेस समाचार
                                                                                        स्पेस समाचार                                         
                                                        






