काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ।
बाढीपहिरालगायत विपद्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले स्पेस फोरके टेलिभिजनलाई जानकारी दिएका छन् ।
पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ।
बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए।
उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।
प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन् ।
अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताएका छन् ।