
काठमाडौं । गएको असोज १८, १९ तथा २० गते र त्यसअगाडिको बाढीपहिरोका कारण क्षति पुगेका सडकको संरचनाका पुनर्निर्माणका लागि झन्डै १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ ।
त्यस्तै गएको वर्षको विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि एक अर्ब ७० करोड रुपैयाँ बाँकी रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन गर्न उच्च प्राथमिकतामा राखेर मातहतका निकायले काम गरिरहेको बताएका छन्।
यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा धेरै क्षति मेची राजमार्गमा भएको छ । मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणगढ-मुग्लिनलगायतका राजमार्गको पुनर्निर्माणका लागि झन्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने नयाँ पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।