images

भारत–पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हटे, तटस्थ स्थानमा वार्तामा बस्ने सहमति

काठमाडौं । दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न राष्ट्र भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन् ।

शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन् । त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन् ।

ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन् ।

एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सारकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन् ।’

‘शान्तिको मार्ग चुन्ने प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता, विवेक र शासनकलाको सराहना गर्छौं,’ उनले थपेका छन् ।

सहमतिको पुष्टि पाकिस्तानी विदेशमन्त्री इसाक दारले पनि गरेका छन् । उनले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको बताएका छन् ।

‘पाकिस्तान र भारतले तत्काल लागू हुनेगरी युद्धविराम गर्ने सहमति गरेका छन् । पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग सम्झौता नगरी सधैँ शान्ति र सुरक्षाको प्रयास गर्दै आएको छ,’ उनले लेखेका छन् ।

भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि यसको पुष्टि गरेका छन्। उनले भारत र पाकिस्तानले शनिबार साँझ पाँच बजेबाट जल, थल र आकाशमा सैन्य कारबाही र गोलीबारी बन्द गर्ने सहमति भएको पनि बताएका छन् ।

रुबियोका अनुसार उपराष्ट्रपति जेडी भान्स र उनले प्रधानमन्त्रीहरू नरेन्द्र मोदी र शहबाज सरिफका अलावा विदेशमन्त्री एस जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनिर र दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र असिम मलिकसँग कुरा गरेका थिए ।