images

भिजिट भिसा प्रकरणः गृहमन्त्री लेखक निर्दोष रहेको कांग्रेसको दाबी, अफबाह फैलाइएको आरोप

काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ ।

सत्तारुढ कांग्रेसले त्रिभुवन विमानस्थल अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको हो ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यो प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताएका छन् । उनले अध्यागमनमा भएको अख्तियारको छापामारी र त्यसपछिका कुराहरू संसदभित्र र बाहिर गृहमन्त्रीले प्रष्ट पार्ने बताए ।

शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको महतले जानकार दिएका छन् । उनले अब नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्ति नआउने प्रष्ट पारे ।

प्रवक्ता डा.महतले यस्ता अफवाहको शिकार कांग्रेसकै नेताहरु समेत भएको बताए । बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त प्रकरणको सबिस्तार ब्याख्या गर्दै कुनै संलग्नता नरहेको बताएका थिए ।

लेखकको कुरालाई पार्टीले पूर्णरुपमा विश्वास गरेको भन्दै महतले भिजिट भिसामा संलग्नमाथि निष्पक्ष छानविन गरेर कारवाही हुनुपर्ने बताएका छन् । गृहमन्त्री लेखकमाथि अध्यागमन विभागमा सेटिङ मिलाएर दैनिक ५० लाख असुली गरेको आरोप छ ।