
काठमाडौं । जेनजी समूहका अगुवा मिराज ढुङ्गानाले भ्रष्टाचारविरुद्धको आफ्नो अडान, प्रत्यक्ष कार्यकारी निर्वाचन, र प्रवासमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्नुपर्ने माग दोहोर्याएका छन् ।
दशैंको अवसरमा जेनजी आन्दोलनको तर्फबाट विज्ञप्ति जारी गर्दै ढुङ्गानाले आन्दोलनले देखावटी प्रदर्शन वा संस्थाको बदनाम गर्ने उद्देश्य नराखेको प्रष्ट पार्दै हालैको आन्दोलनका क्रममा विश्वव्यापी ब्रान्ड र प्रतिष्ठानहरू प्रभावित हुन पुगेको घटनाप्रति खेद व्यक्त गरेका छन् ।
उनले विशेष गरी ‘हिलटन’ ब्रान्डलगायत संस्थामाथि आक्षेप लगाउनु आन्दोलनको उद्देश्य कहिल्यै नभएको उल्लेख गर्दै क्षमा मागेका छन् । विज्ञप्तिमा भनिएको छ, “हाम्रो लक्ष्य भ्रष्ट र निष्क्रियलाई सत्ताबाट हटाउने, नयाँ जनमतमार्फत संविधान सुधारको बाटो खोल्ने, प्रत्यक्ष कार्यकारी निर्वाचन र जवाफदेही शासनको आधार निर्माण गर्ने हो ।
प्रधानमन्त्री हट्नु, संसद विघटन हुनु र निर्वाचन मिति तोकिनु हाम्रो आन्दोलनको सुरुवात मात्र हो ।”
आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै ढुङ्गानाले उनीहरूको बलिदानले आन्दोलनलाई नैतिक प्रतिज्ञामा रूपान्तरण गरेको उल्लेख गरेका छन् । शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्दै उनले सहिदहरूको नाम नेपाल पुनर्जागरणको इतिहासमा सदा अंकित रहने जनाएका छन् ।
विदेशमा रहेका नेपालीप्रति आन्दोलनले विशेष आह्वान गर्दै, देशलाई रेमिट्यान्समार्फत धान्ने प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न कानुनी र व्यावहारिक व्यवस्था आवश्यक रहेको माग दोहो¥याएको छ ।
त्यसैगरी, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारहरूलाई सम्बोधन गर्दै विज्ञप्तिमा नेपाल सहकार्य चाहने तर टकराव नचाहने प्रष्ट पारिएको छ। लगानी, सीप र प्रविधिलाई स्वागत गर्ने उल्लेख गर्दै नेपाललाई पारदर्शी, दिगो र विश्वासिलो लगानी गन्तव्य बनाउन प्रतिवद्धता जनाइएको छ ।
वरिष्ठ पुस्ता र स्थापित नेतृत्वप्रति भने आन्दोलनले अनुभवलाई अस्वीकार नगर्ने तर जवाफदेहिता अनिवार्य हुने जनाएको छ। “पदले विशेषाधिकार दिएको छ भने अब पदले नै उत्तरदायित्व दिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।