काठमाडौं । सरकारले मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाएको हो। उनले आइतबार राति एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेर होटलमा शपथ गराएपछि विवादमा परेकी थिइन्। सुमित्राको ठाउँमा सरकारले सुरेन्द्र लाभलाई नियुक्त गरेको छ।
बिरामी परेको भन्दै सोमबार बिहानै ४ बजे मधेस भवनबाट बाहिरिएकी मधेस प्रदेशकी प्रदेश प्रमुख सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एक होटलमा एमाले सांसद् सरोज यादवलाई शपथ ग्रहण गराएपछि उनी विवादमा परेकी थिइन्। सरकारले उनले शपथ गराएको १४ घन्टामै उनलाई पदबाट हटाएको हो।
आइतबारमात्र एमाले बाहेकका दलहरू नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार आह्वान गर्नका लागि प्रदेश प्रमुखकहाँ जाँदा उनले अलमल गर्दै दुई तीन दिन लाग्ने बताएकी थिइन् तर उनले रातारात यादवलाई नियुक्त गरेकी थिइन्। पाँच दलको ५६ जना प्रदेश सभा सदस्यको समर्थनमा गत असोज २९ गते नियुक्त भएका मुख्यमन्त्री जितेन्द्र प्रसाद सुनार ९सोनल० ले विश्वासको मत पाउने अवस्था नदेखेपछि शनिबार प्रदेशसभामै राजीनामाका घोषणा गरेर प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए।
स्वास्थ्य उपचारको नाममा निस्केकी प्रदेश प्रमुख भण्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा यादवलाई शपथ गराएपछि यसको चर्को आलोचना भएको थियो।


स्पेस समाचार







