images

माधवलाई समेट्न सत्ता गठबन्धनको दोस्रो संयुक्त वक्तव्य जारी (वक्तव्यसहित)

काठमाडौं– गत फागुन २१ गते बनेको नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनले ८ दिनमै दोस्रो संयुक्त वक्तव्य जारी गरेको छ।

मंगलबार एकीकृत समाजवादी पार्टीलाई पनि गठबन्धनमा औपचारिक रुपमा समेट्दै पाँच दलका शीर्ष नेताहरूले ७ बुँदे वक्तव्य जारी गरेका हुन्। संसद् भवन नयाँबानेश्वरमा राष्ट्रिय सभाको अध्यक्षका लागि निर्वाचन अघि बढिरहँदा पाँच दलले निकालेको वक्तव्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा फागुन २१ गते पुनर्गठित सरकारलाई सुदृढ र सफल बनाउने उल्लेख गरेका छन्।

पाँच दलको वक्तव्यमा मंगलबार भइरहेको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा माओवादी केन्द्रका नारायण दाहाललाई सघाउने र बुधबार प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतको पक्षमा उभिने उल्लेख गरिएको छ।

वक्तव्यमा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाएर समेट्दै लैजाने नेताहरूले उल्लेख गरेका छन्।

उनीहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्न यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्गयाउने पनि जनाएका छन्।

तर यसमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेको प्रधानमन्त्रीबारे केही पनि उल्लेख गरिएको छैन। उनलाई पनि प्रधानमन्त्री बनाएर लैजाने विषयमा गठबन्धनका दुई शीर्ष नेता सहमत भएको चर्चाबीच ८ दिनमै आएको अर्को वक्तव्यमा त्यसलाई सम्बोधन गरिएको छैन्।