
काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको सो रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो । यसअघि पनि यो रिट पाँच पटक हेर्न नमिल्नेमा परेको थियो । एक महिनाअघि दायर भएको रिटमा अहिलेसम्म एकपटक मात्रै सुनवाइ भएको छ ।
यसअघि वैशाख २८ गते पनि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिँदा हेर्न नमिल्ने भनेर सुनुवाइ गरिएन । हरि फुयालले पनि यो निवेदनमा सुनुवाइ गरेनन् । वैशाख ९ गते कारण देखाऊ आदेश जारी गरेका न्यायाधीश अब्दुल अजिज मुसलमानले पनि त्यसपछि हेर्न नमिल्ने भन्दै सुनुवाइ गरेका छैनन् ।
रविसँगै पूर्वडीआईजी छविलाल जोशीको निवेदन पनि साथै राखेर पेस गरिएको छ । उनीहरू दुवै जना रुपन्देही कारागारमा छन् , जिल्ला अदालत रुपन्देहीले छविलाई पुर्पक्षका लागि थुनामा पठाउँदा रविसँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो । तर उच्च अदालतट बुटवलले रविलाई पनि थुनामा पठाउने आदेश गरेको थियो ।
उनलाई थुनामा पठाउने आदेश आएकै दिन प्रहरीले पक्राउ गरेको थियो । तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर तीन दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग लामिछानेले गरेका छन् । यस्तै थुनामा पठाउने उच्च अदालतको आदेश पनि पनि बदर गर्न माग गर्दै उनले सर्वोच्चमा निवेदन दिइसकेका छन् ।
अदालत स्रोतका अनुसार रवि लामिछानेको पक्षबाट बहस गर्ने वकिल नातेदार परेपछि न्यायाधीशले सुनवाइ नगर्ने निर्णय लिएका हुन् ।