
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकतालाई समेटेर आएको बताएको छ ।
शनिवार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसको माग बमोजिम नै आएकाले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बताए । उनले कांगे्रसले संसदमा नीति तथा कार्यक्रमको पक्षमा बोल्ने बताए ।
कांग्रेसले नीति तथा कार्यक्रमका बारेमा सरकारलाई सकारात्मक र रचनात्मक सुझाव समेत दिने उनले बताए । नीति तथा कार्यक्रमको सम्बोधन गर्ने गरी बजेट निर्माण गर्न सरकारलाई सचेत गराइने निर्णय भएको प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।
प्रमुख सचेतक घिमिरेले विधेयक निर्माणमा परिणाम देखिने गरी कांग्रेसले भुमिका खेल्ने बताए । विधेयक निर्माणमा सांसदहरुको भुमिका सुस्त हुँदा धेरै कुरामा प्रभाव परेको बताए । विधेयक निर्माणको गतिलाई तिब्रता दिन कांग्रेसले सक्रियतापूर्वक संसद र समितिहरुमा काम गर्ने उनको भनाइ छ ।
कांग्रेस संसदीय दलको बैठकले शिक्षकसँग गरिएको सहमतिअनुसार असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिवद्धता जनाएको छ ।
त्यस्तै, पछिल्लो समय भारतको उडिसाको कलेज र पहलगम तथा बेलायतमा भएको घटनाबारे निन्दा गर्दै मृतक नेपालीहरुको जाँचबुझका लागि माग गर्ने निर्णय गरेको छ ।