images

राहदानी रद्द नगरिँदा जीबी पक्राउ परेनन्, नेपाल प्रहरीको टोली १० दिन मलेसिया बसेको खुलासा

काठमाडौं । सहकारीको रकम अपचलन गरेका गितेन्द्रबाबु राई ९जीबी० लाई मलेसियाबाट पक्राउ गरी नेपाल ल्याउन सरकारकै केही निकायहरूले प्रहरीलाई सहयोग नगरेको खुलासा भएको छ ।

विभिन्न सात वटा सहकारीबाट करिब १६ अर्ब रुपैयाँ अपचलन गरी मलेसिया भागेका उनलाई पक्राउ गरी नेपाल ल्याउन इन्टरपोलमार्फत पहल गरे पनि राहदानी विभाग र जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको मागअनुसार निर्णय नगरेपछि सफलता पाउन नसकिएको प्रहरीले जनाएको छ ।

सहकारी ठगी छानबिन विशेष संसदीय समितिमा गृह मन्त्रालयले जीबी राईलाई ल्याउन भएको पहलबारे जानकारी दिने क्रममा यो तथ्य खुलेको हो । समितिलाई गृह मन्त्रालयले दिएको जानकारी अनुसार इन्टरपोलको सहयोगमा जीबी राईलाई पक्राउ गर्ने पहल हुँदा मलेसियन प्रहरीले उनको राहदानी रद्द भए १४ दिनभित्रै डिपोर्ट गर्न सकिने बताएको तर नेपालमा उनको राहदानी रद्द हुन नसकेको पाइएको छ । राहदानी विभाग र जिल्ला सरकारी वकिल कार्यालय कास्कीले कानुनअनुसार उनको राहदानी रद्द गर्न नसकिने जवाफ जिल्ला प्रहरी कार्यालय कास्कीलाई दिएका थिए ।

यसपछि पनि प्रहरीले जीबी राईलाई पक्राउ गर्ने प्रयास जारी राखेको पाइएको छ । दुई जना प्रहरी अधिकारी ७ भदौमा मलेसिया गएको र उनीहरू खाली हात १७ भदौमा फर्किएको समेत जनाइएको छ । १० दिन बसेर प्रहरीले केके गर्‍यो भन्ने केही खुलाइएको छैन ।