
काठमाडौं । रुपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनको सरगर्मी तीव्र रुपमा बढिरहेको छ । आगामी कात्तिक १७ हुने मतदानका लागि राजनीतिक दलहरु आफ्नो उम्मेदवार खोज्न लागिपरेका छन् ।
राजनीतिक प्रतिष्ठाको लाडाइका रुपमा हेरिएको उक्त उपनिर्वाचनमा सत्तासिन दल नेकपा एमालेले आफ्नो उम्मेदवारको रुपमा खिमलाल भट्टराईलाई अघि सार्ने सम्भावना बलियो छ । नेकपा एमालेको पोलिटब्युरो सदस्यसमेत रहेका भट्टराई पूर्वराष्ट्रिय सभा सदस्य समेत हुन् ।
२०७९ को निर्वाचनमा भट्टराईलाई रुपन्देही क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनाउने योजना थियो । सोही अनुरुप उनले राष्ट्रिय सभा सदस्य पदबाट राजीनामासमेत गरेका थिए । तर, त्यसबेला दोहोरो उम्मेदवारी परेपछि उक्त स्थानमा वासुदेव घिमिरेको उम्मेदवारीलाई आयोगले मान्यता दिएको थियो । तर, आगामी उपनिर्वाचनमा भने भट्टराईले नै मौका पाउने पक्काजस्तै छ ।
बाहिरी रुपमा हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सागर ढकालको जबरजस्त चर्चा गरिँदै छ । इन्जिनियर ढकाल गत आम निर्वाचनमा डडेल्धुराबाट चुनाव लाडेका थिए । पाँच÷पाँच पटक प्रधानमन्त्री भइसकेका एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हराउने उनको धोको थियो । तर गएको चुनावमा डडेल्धुराबाट १२ हजार ४ सय ९२ मतान्तरले पराजित भएका ढकालले १३ हजार ४२ मत प्राप्त गरेका थिए । अर्को चुनाव पनि डडेल्धुराबाटै लड्ने घोषणा गरेका उनले रुपन्देही–३ को उपचुनावमा चासो देखाएका छन् । देउवाको गृहजिल्ला पुगेर १३ हजार ४२ मत पाएपनि कांग्रेसको विरासत भत्काउन नसकेका ढकाललाई रास्वपाले टिकट दिने सम्भावना प्रवल छ । मौसमी राजनीति गर्ने ढकाल युवा पुस्ताबीच लोकप्रिय छन् । उनको लोकप्रियताकै कारण रास्वपाले पनि उपनिर्वाचनमा उम्मेदवार बनाउन सक्ने चर्चा छ । जसका लागि उनले राजनीतिक भेटघाटलाई तीव्र पारेका छन् ।
यता संघीय संसदको सबै भन्दा ठूला दल नेपाली कांग्रेसले भने रुपन्देही–३ मा कसलाई उम्मेदवार बनाउछ ? त्यो निश्चित भइसकेको छैन । पार्टीका नेताहरु अन्तरिक दौडधुपमा लागेपनि टिकट कसको पोल्टामा पर्छ त्यो अनिश्चित छ । नेकपा माओवादी केन्द्रको हालत पनि यस्तै छ ।
नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरु पनि एक्लै चुनाव लड्ने कि समीकरण बनाउनेबारे दोधारमा छन् । रुपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र प्रतिनिधिविहीन छ । सोही पद पूर्तीका लागि हुन लागेको उपनिर्वाचनलाई उम्मेदवारको हार÷जित भन्दा पनि राजनीतिक दलको प्रतिष्ठासँग जोडेर हेरिएको छ ।