images

श्रीलंकाको भूमिगत गिरोहका ६ सदस्य डिपोर्ट

श्रीलंकाको भूमिगत गिरोहका नाइके सञ्जीवा कुमारा समारारत्ने (गणेमुल्ला सञ्जीवा) हत्याका ६ आरोपीलाई सरकारले डिपोर्ट गरेको छ ।

काठमाडौँमा पक्राउ परेका उनीहरुलाई नेपाल सरकारले बुधबार श्रीलंका डिपोर्ट गरेको हो । नेपाल प्रहरीसँगको विशेष समन्वयमा गरिएको अपरेसनमा गणेमुल्लाका हत्यामा संलग्न ६ जना पक्राउ परेका थिए । उनीहरु काठमाडौँ र भक्तपुरमा डेरा लिएर बस्दै आएको खुलेको थियो ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा श्रीलंकाको मिनुवनगोडा बस्ने इसारा सेउबन्दी (२६), जीवथासन कनाकरासा (३३), ठाक्सी नन्थाकुमार (२३), दिनेश श्यामन्था दि सिल्भा (४९), केनेडी बस्टिम्पिल्लै (३५) र दिनेश निसन्था कुमारा विक्रम आचिर्च्चगे (४३) छन् । उनीहरूमध्ये इसारा कोलम्बोको हल्फ्सडोर्प अदालत परिसरको मजिस्ट्रेट कोर्टमा भएको सञ्जीवा हत्या प्रकरणकी मुख्य अभियुक्त भएको बताइएको छ ।

उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरिएको थियो । रेड नोटिस जारी भएपछि काठमाडौँस्थित श्रीलंकन दूतावासले चासो देखाएको थियो । त्यसपछि नेपाल प्रहरीले निगरानी थालेको थियो । यो गिरोह पक्राउ गर्न प्रहरी प्रधान कार्यालय नक्सालमा रहेको इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) बाट टोली परिचालन गरिएको थियो ।

पक्राउ परेका मध्ये सबै श्रीलंकाको कुख्यात नाइके एवं लागूऔषध तस्कर केहेलबड्डरा पद्ये समूहको भएको प्रहरीले जनाएको छ । पद्ये समूहले मलेसिया र दुबईबाट संगठित अपराधको र्‍याकेट चलाउँदै आएको बताइएको छ । उनी २५ अगस्टमा इन्डोनेसियाबाट पक्राउ परेका थिए ।