images

संविधान संशोधनका लागि संयन्त्र बनाउने कांग्रेस-एमालेको निर्णय

काठमाडौं । सत्तारूढ कांग्रेस र एमाले संविधान संशोधनका लागि राजनीतिक संयन्त्र बनाउने निर्णयमा पुगेका छन् । दुई दलका शीर्ष नेतासहित बालुवाटारमा भएको शृंखलाबद्ध बैठकले संविधान संशोधनको गृहकार्य गर्न संयन्त्र गठन गर्ने र असार १७ मा दुई दलबीच भएको सातबुँदे सहमति कार्यान्वयनका लागि ठोस योजना अघि सार्ने तयारी थालेका हुन्।

कांग्रेस र एमालेले संविधान संशोधनको मूल एजेन्डा बनाएर असार १७ मा सत्ता सहकार्यको सातबुँदे सहमति गरेका थि । सातबुँदे सहमतिको मुख्य विषय नै संविधान संशोधन गर्ने थियो।सहमतिको २ नम्बर बुँदामा ‘राष्ट्रिय सहमतिको सरकारले संविधान लागू भएपश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माणलाई प्राथमिकता दिने’ उल्लेख छ । तर यस बीचमा सत्ता गठबन्धनले संविधान संशोधन सम्बन्धमा ठोस योजना अघि सारेको छैन ।

पछिल्ला बैठकमा सहभागी हुँदै आएका गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको गृहकार्य अघि बढाउन दुई दल सम्मिलित कार्यदल गठन गर्ने निर्णय भएको बताए । उनका अनुसार संयन्त्रले नयाँ संविधान कार्यान्वयनको १० वर्षको समीक्षा गर्दै संशोधनका विषय पहिचान गर्नेछ।