images

संसदभित्र आफ्नो प्रस्तुति प्रभावकारी बनाउन सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदभित्र आफ्नो प्रस्तुति प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएका छन् ।

शनिवार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उनले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रस्तुति प्रभावकारी बनाउन निर्देशन दिएका हुन् । उनले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको बताए ।

उनले संसदमा बोल्दा जिम्मेवार बन्न र राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिए । विपक्षीहरुले बिरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्नसक्ने गरी सांसदहरुले तयारी गर्नुपर्ने उनले बताए ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रिकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नेपालको नीति भएको बताए । नेपालले अवलम्वन गर्ने आन्तरिक र वाह्य नीतिहरु प्रष्ट र सही भएको र कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्वन गर्दै आएको बताए । देशको सम्मान र हितलाई ध्यान दिएर छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार, राजनीतिक स्थायित्वका साथ सुशासन कायम गरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने सरकारको लक्ष्य रहेको बताएका छन् ।