images

सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउन गगनको माग 

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधिसभा बैठकमा थापाले लामिछाने सहकारी ठगीमा संलग्न रहेको दाबी गर्दै तत्कालीन गृहमन्त्री लामिछानेमाथि तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउन माग गरे । प्रतिपक्षमा रहँदा गिरिबन्धु टी स्टेट, भुटानी शरणार्थी प्रकरणमा घोटाला देख्ने तर सत्तामा आएपछि देख्दै नदेख्ने काम सरकारले गर्न नहुने उनको भनाइ छ ।

उनले भने, ‘माघ २२ गते पीडितहरूले जाहेरी दिन गए। प्रहरीले लियो पनि। पुरानै जाहेरी भएकाले पूरक भनिदियो । पछि गृहमन्त्री भएपछि जाहेरि नै होइन भन्नुभयो । त्यस कारण रमेश लेखकले यो प्रमाण हो भन्नुभएको थियो । अहिले उहाँ सरकारतिर पुग्नुभएको छ। सरकार फेरियो कुरा फेरिन्छर ? फेरिन्न। यो सदनमा हामी पनि छौँ ।’

उनले गिरीबन्धु टी स्टेट , नक्कली भुटानी शरणार्थी प्रकरण, विद्युत्को महसुलको विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने बताए । उनले सबै प्रकरणमा छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।