images

सातौँ संस्करणको साफ महिला च्याम्पियनसिप बिहीबारदेखि, उपाधि चुम्ने दाउमा नेपाल

काठमाडौं । सातौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल बिहीबारदेखि सुरु हुँदै छ ।

कात्तिक १४ गतेसम्म चल्ने प्रतियोगिता काठमाडौँस्थित दशरथ रंगशालामा हुनेछ । नेपालले तेस्रो पटक साफ च्याम्पियनसिपको आयोजना गर्न लागेको हो । यसअघि यो प्रतियोगिता सन् २०१९ र २०२२ मा नेपालमा आयोजना भएको थियो ।

६ संस्करण पुरा भइसकेको यो प्रतियोगितामा हालसम्म भारत र बङ्गलादेशले मात्र उपाधि जितेका छन् । भारतले ५ र बङ्गलादेशले एक पटक उपाधि जित्दा नेपाल भने उपाधिविहीन छ । ५ पटक फाइनल यात्रा तय गरेको नेपालले हालसम्म उपाधि जित्न सकेको छैन।

हरेक पटक नेपालको लागि भारत बाधक बनेर उभिने गरेको छ । सन् २०१० मा बङ्गलादेशमा भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग स्तब्ध भएको थियो । फाइनल पुगेको पाँचौं पटक नेपाल भारतसँग पराजित भएको छ । चौथो संस्करणबाहेक सबै संस्करणमा नेपाल फाइनल पुगेको थियो ।

सन् २०१६ मा भारतमा भएको प्रतियोगितामा भने घरेलु टोलीसँग पराजित हुँदा नेपाल सेमिफाइनलबाटै बाहिरिनु प¥यो । सन् २०२२ मा घरेलु मैदानमा भएको च्याम्पियनसिपमा पहिलो पटक नेपालले सेमिफाइनलमा भारतलाई पराजित गरेर इतिहास रच्यो । तर, उपाधि भने चुम्न सकेन । फाइनलमा बङ्गलादेशसँग पराजित हुँदा नेपालको उपाधि जित्ने सपना पूरा हुन नसकेको हो ।

यसपालि नेपाल घरेलु मैदानमा पहिलो पटक उपाधि चुम्ने दाउमा छ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनसिपमा च्याम्पियन बन्ने लक्ष्य रहेको बताइन् ।

च्याम्पियनसिपको उद्घाटन खेलमा बिहीबार भारत र पाकिस्तान भिँड्दै छन् । आयोजक नेपालले भने शुक्रवार भुटानसँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्दै छ । केही समयअगाडि मात्र एन्फा महिला लिगको पहिलो चरण पूरा भएको थियो । सोही लिगको प्रदर्शनका आधारमा एन्फाले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो । त्यहाँबाट राष्ट्रिय टोली निर्माण गरिएको हो ।

नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु लिग सञ्चालन भएकाले दुई हप्ता मात्रै तयारी गरेको र योजनाअनुरूप तयारी गर्ने समय नमिलेको बताए । फिजिकल स्ट्रेन्थ र इन्डुरेन्समा काम गर्न नपाएको उनको भनाइ छ ।

नेपालको समूहमा रहेको भुटानले फुटबलमा धेरै लगानी गरिरहेको र त्यहीअनुरूप प्रदर्शन पनि गरेकाले सहज प्रतिद्वन्द्वी नहुने उनको भनाइ छ । महिला साफ च्याम्पियनसिपको सफल टोली भारत हो । भारतले पाँच पटक उपाधि उचाल्दा गत संस्करण मात्र बङ्गलादेशले जितेको छ । बङ्गलादेशका मुख्य प्रशिक्षक पिटर बटलरले युवा र अनुभवी खेलाडीसहित टोली सन्तुलित रहेको बताए ।

यता, साफको सबैभन्दा बलियो टोली भारतका प्रशिक्षक सन्तोष कश्यपले सहभागी धेरै टोली बलियो रहेकाले र प्रतिस्पर्धात्मक खेलहरू हुने आशा व्यक्त गरे ।

च्याम्पियनसिपमा आयोजक नेपालसहित मालदिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । कुल सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा श्रीलङ्का मालदिभ्स र भुटान गरी चार राष्ट्र छन् । अर्को समूह ‘ए’ मा भने बलिया राष्ट्र भारत, पाकिस्तान र साबिक विजेता बङ्गलादेशले प्रतिस्पर्धा गर्ने तय छ ।