
काठमाडौं । बैशाख मसान्तसम्म सरकारले तिर्नुपर्ने कूल ऋणको दायित्व २६ खर्ब २२ अर्ब ४० करोड रुपियाँ पुगको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट प्राप्त बैशाख मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यो ब्याज बाहेकको साँवा ऋण मात्रै हो ।
त्यसमा आन्तरीक ऋण १२ खर्ब ६६ अर्ब ७० करोड रुपियाँ पुगेको छ । विदेशी ऋण भने १३ खर्ब ५५ अर्ब ६९ करोड रुपियाँ पुगेको कार्यालयको भनाइ छ ।
गत आवको अन्तिमसम्म नेपालको ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपियाँ थियो । त्योअनुसार चालु आवको १० महिनामा सार्वजनिक ऋण एक खर्ब ८८ अर्ब ३० करोड रुपियाँले बढेको देखिन्छ ।
समिक्षा अवधिमा सरकारको ऋण प्राप्ती तीन खर्ब ९० अर्ब ८३ करोड रुपियाँ छ । त्यसमा आन्तरीकतर्फ तीन खर्ब एक अर्ब १४ करोड रुपियाँ र विदेशीतर्फ ८९ अर्ब ६८ करोड रुपियाँ ऋण प्राप्ती भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
तथापि, १० महिनामा आन्तरीक तर्फ दुई खर्ब १५ अर्ब ३३ करोड रुपियाँ र विदेशीतर्फ ३५ अर्ब ३८ करोड रुपियाँ गरेर दुई खर्ब ५० अर्ब ७१ करोड रुपियाँ ऋण साँवा भुक्तानी भएको कार्यालयको भनाइ छ ।
त्यसपछि कायम ऋणमा विदेशी मुद्राको मूल्यमा आएको परिवर्तनले ४८ अर्ब १९ करोड रुपियाँ दायित्व थपिएको छ । यसरी बैशाख मसान्तसम्म आउँदा नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपियाँ कायम भएको कार्यालयको भनाइ छ ।
चालु आवमा सरकारले पाँच खर्ब ४७ अर्ब रुपियाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । त्यसमा आन्तरीक तर्फ तीन खर्ब ३० अर्ब रुपियाँ र विदेशीतर्फ दुई खर्ब १७ अर्ब रुपियाँ ऋण लिने लक्ष्य छ ।
बैशाख मसान्त सम्ममा आउँदा तीन खर्ब ९० अर्ब ८३ करोड रुपियाँ ऋण प्राप्ति भएको छ । त्यसमा आन्तरीक तर्फ तीन खर्ब एक अर्ब १४ करोड रुपियाँ र विदेशीतर्फ ८९ अर्ब ६८ करोड रुपियाँ ऋण प्राप्ती भएको छ । सरकारले लक्ष्यअनुसार वैदेशिक ऋण परिचालन गर्न नसकेको देखिन्छ ।