images

स्पेस समाचार प्रभाव: ढलेका पोल तथा लत्रिएका तार व्यवस्थापनको काम सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण विराटनगर केन्द्रले विराटनगर महानगरपालिका भित्र ढलेका पोल तथा लत्रिएका तार व्यवस्थापनको काम सुरु गरेको छ । साउन १७ गते स्पेस फोरके टेलिभिजनले ढलेका बिजुलीको पोलका कारण जोखिम बढेको विषयमा समाचार प्रसारण गरेको थियो । पटक–पटक स्थानीयले ध्यानाकर्षण गराउँदा बेवास्ता गर्दै आएको प्राधिकरणले समाचार प्रसारणपछि भने ढलेका पोल तथा तार व्यवस्थापन गर्न थालेको हो ।
विराटनगर महानगरपालिका–१८ को कालाबंजरमा तीन साता अघिदेखि स्थानीयको घर नै जोखिममा पर्ने गरी बिजुलीको हाई भोल्ट पोल ढलेको थियो । यस्तै पर्ती टोलमा झन्डै ३ महिना अघि तारसहितको पोल नालामा ढलेको थियो । सो वडामा मात्रै सय बढी पोल ढल्ने अवस्थामा थिए ।

विभिन्न टोलहरूमा यसरी ढलेका बिजुलीका पोल तथा लत्रिएका तारहरूका कारण दुर्घटनाको जोखिम बढेको थियो भने कतिपय टोलको विद्युत् प्रवाह समेत अवरुद्ध थियो । सो विषयमा सम्बन्धित वडाका वडाध्यक्षसँगै स्थानीयले केन्द्रमा पटक पटक गुनासो गरे पनि प्राधिकरणले आनाकानी गर्दै आएको थियो ।

पीडित स्थानीयहरू स्पेस फोरके टेलिभिजनको सम्पर्कमा आएपछि टेलिभिजनले सो विषयमा प्राधिकरणको विराटनगर वितरण केन्द्रका प्रमुख सरोज साहसँग प्रतिक्रिया लिनुका साथै साउन १७ गते स्थलगत रिपोर्ट प्रसारण गरेको थियो । त्यस लगत्तै उक्त वडामा ढलेका ५ वटै पोलहरू यथास्थानमै गाडिएको छ भने जीर्ण पोलहरू मर्मत गरिएको छ । यस्तै अवरुद्ध भएको लाइन पनि सुचारु भएको छ ।

प्राधिकरणले ठेकेदारमार्फत पोल गाड्ने काम गराउँदै आएकाले उनीहरूको लापरबाहीका कारण पनि गाडिएको केही समयमै पोल ढल्ने गरेको हुनसक्ने स्थानीयको भनाई छ । तसर्थ प्राधिकरणले पोल दुरुस्त गाडिए नगाडिएको विषयमा भने चेकजाँच गर्न जरुरी रहेको स्थानीयको सुझाव छ ।