images

हवाई दुर्घटनाको इतिहासः बन्दैन दुर्घटना न्युनिकरणको ठोस योजना !

काठमाडौं । नेपालको आकाशमा हरेक बर्षजस्तो हवाइ दुर्घटना हुने गरेका छन । जसका कारण ठूलो जनधनको क्षति भए पनि दुर्घटना न्युनिकरणको लागि ठोस पहल भने भएको छैन । नागरिक उड्डयन प्राधिकरण र आईकाओले हवाई दुर्घटना बढ्दै जानुको कारणबारे विभिन्न अनुसन्धान गरे पनि ठोस् कदम नचाल्दा हवइ दुर्घटनाको आकडामा कमी हुन सकेको छैन ।

सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा २ जनाले ज्यान गुमाएका थिए । १९६० नोभेम्बर ५ मा भैरहवामा नेपाल वायुसेवा निगमको मल्टी इन्जिन विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो । नेपालमा भएको सबैभन्दा ठूलो दुर्घटना ललितपुरमा भएको थियो। १९९२ सेप्टेम्बर २८ मा पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाँडामा दुर्घटना हुदा १७६ जनाको ज्यान गएको थियो। नेपालमा अर्को ठूलो हवाई दुर्घटना नुवाकोटको घ्याङफेदीमा १९९२ जुलाई ३१ मा भएको थियो। उक्त दुर्घटनामा ११३ जनाले ज्यान गुमाएका थिए। यि त केही प्रतिनिधि घटना मात्र हुन ।

यस्ता प्रकारका दुर्घटना हरेक बर्षजस्तो हुने गरेका छन । मानवीय क्षति हुने गरी नेपालमा अहिलेसम्म ६० हवाई दुर्घटना भएका छन् । ३५ आन्तरिक र आठ अन्तर्राष्ट्रिय जहाज तथा १७ हेलिकोप्टर दुर्घटनामा ८९७ ले ज्यान गुमाएको नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको तथ्यांक छ । आन्तरिक उडानतर्फ यती समूहले सञ्चालन गरेका यती एयरलाइन्स र तारा एयरका १४ जहाज दुर्घटना भएका छन् । जसमा चालक दलका सदस्यसहित १६९ जनाले ज्यान गुमाएका छन ।

यसरी विमान दुर्घटनाको घटना बढ्दै गएपनी न्युनिकरण गर्न भने खासै पहल भएको छैन । यद्यपी यस्ता बिषयमा अधययन अनुसन्धान भने भएका छन । नेपाल नागरिक उड्डयन प्राधिकरणको सन् २०१८ देखि २०२२ सम्मको ‘नेपाल उड्डयन सुरक्षा योजना’ मा नेपालमा हवाई उडानमा सुरक्षाको जोखिम विभिन्न ६ कारणले हुने उल्लेख गरिएको छ।

विश्वव्यापी उड्डयन सुरक्षा योजना (जीएएसपी) र क्षेत्रीय उड्डयन सुरक्षा योजना (आरएएसपी)को अनुरुप विकास गरिएको यो योजनामा नेपालमा हवाई दुर्घटना हुने प्रमुख कारणहरु भौगोलिक अवस्था, उडानका क्रममा जहाज अनियन्त्रित हुनु, मिड एयर कोलिजन, मानवीय त्रुटीलगायतका कारणहरु औंल्याइएको छ।

प्राधिकारणको २०२२ को सुरक्षा प्रतिवेदनअनुसार सन् २०२१ मा नेपालको हवाई क्षेत्रमा देखिएका ९८६ जोखिमहरुमध्ये ४३ प्रतिशत संगठनको कारण भएको उल्लेख गरिएको थियो । त्यस्तै, २० प्रतिशत जोखिम प्राविधिक, १८ प्रतिशत वातावरणीय कारण, ८ प्रतिशत मानवीय कारण र ११ प्रतिशत अन्य कारणले गर्दा जोखिम देखिएको प्रतिवेदनमा उल्लेख छ। यीमध्ये ७ प्रतिशत जोखिमहरु उच्च किसिमका रहेका छन् भने ६४ प्रतिशत न्यून किसिमका र २९ प्रतिशत मध्यम किसिमको रहेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सन् २०१२ देखि २०२१ सम्म विमान दुर्घटनाबारे अनुसन्धानपछि जाँचबुझ आयोगहरूले १७५ वटा सिफारिसहरू गरेका थिए। तीमध्ये १३१ वटा सिफारिस पूर्णतः पालना गरिएको र ११ वाट आंशिक रूपमा गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो प्रतिवेदनमा जनाएको छ। तर १९ वटा सिफारिस पालना नगरिएको र १४ वटा लागु गर्नुनपर्ने उसले जनाएको छ।

त्यस्तै दुर्घटनापछिको उद्धार क्षमतामा पनि प्रश्न उठ्ने गरेको छ । सुरक्षा निकाय समयमै घटनास्थल पुगे पनि उद्धारमा आवश्यक पानी, दमकल तथा अन्य उपकरण समयमै उपलब्ध नहुनु अर्को बिडम्बना बनेको छ । शोकको वेला केही समय चर्को बहस गर्नुभन्दा पनि दीर्घकालीन सुरक्षाको योजना र चुस्त दुरुस्त कार्य सम्पादनको आवश्यकता खड्किएको छ ।

यसरी चूनौतीपूर्ण रुपमा दुर्घटनाहरु वढ्दै जान थालेपछि अब नागरिक उड्ययन प्राधिकरणले यसको नियन्त्रणका लागि कस्तो भूमिका खेल्ला वा अझै कानमा तेल हालेरै बस्ला त्यो भने हेर्न बाँकी नै छ ।