
गोर्खा मिडिया प्रालिमा म्यानेजिङ डाइरेक्टरको भूमिकामा रही काम गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी अनियमितताको आरोप लागेसँगै पार्टीको हविगत के हुने भन्ने राजनीतिक वृत्तमा चर्चा थियो ।
कतिपयले लामिछानेको अनुपस्थितिमा पार्टी धरासायी हुने खालका अनुमान गरेका थिए । लामिछानेलाई घेराबन्दी गरेर नयाँ उदाएका राजनीतिक दलहरुलाई सकेसम्म फुटाउने, टुटाउने धाउन्नेमा पूराना राजनीतिक दलहरु लागेको आरोप पनि लाग्दै आएको छ । केही समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धिको अध्यादेश ल्याउने प्रयत्न गरेका थिए, कांग्रेसले नमानेपछि त्यो अध्यादेश रोकिएको छ । यद्यपि जसरी हुन्छ दल विभाजन सम्बन्धि अध्यादेशको धाउन्नेमा प्रधानमन्त्री ओली छन् भन्ने चर्चा हुन्छ । जसमा नेकपा एकीकृत समाजवादी पनि टुटको संहारमा देखिन्छ ।
आमचासोको विषय के छ भने रास्वपा कसरी अगाडि बढ्छ ? रास्वपाको नेतृत्व कसले गर्छ ? यी धेरै प्रश्नका बीचबाट अहिलेको पार्टीको नेतृत्वलाई उपसभापति डीपी अर्यालले अगाडि बढाइरहेका छन् । विशेषगरी रवि लामिछानेसँग नजिक रहेर लामो समय काम गरेका अर्यालले उनको पक्राउपछि पार्टीलाई गति दिँदै गएका छन् । लामिछाने पक्राउ परेपछि पनि रास्वपाको सभापति लामिछाने नै हुन् र उनले नभनेसम्म नेतृत्व परिवर्तन हुनै नसक्ने डीपीको अभिव्यक्ति थियो । उनै डीपीलाई पछिल्लो संक्रमणकालीन अवस्थामा पार्टी जोगाएर जाने चुनौति थपिएको छ । यसलाई उनले भने अवसरको रुपमा लिएको बताएका छन् ।
‘पार्टीमाथि चौतर्फी प्रहार भइरहेका बेला जोगाएर जाने र सबै नेता, कार्यकर्ताहरुलाई मिलाएर लैजाने अहिलेको प्रमुख कार्य हो, यसमा पार्टीका जिम्मेवार साथीहरुले काम गरिरहनुभएको छ, उनले भने ।’
रास्वपाले अहिले संगठन बिस्तारलाई समेत तीब्र बनाउँदै लगेको छ । अर्यालका अनुसार सभापति लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको बारेमा बुझाउने र आफ्ना नेताहरुमाथि भइरहेका प्रहारबारे आमजनतासँग गएर जागरण अभियानको थालनी भएको छ । आन्तरिक रुपमा रास्वपाले आफ्नो संगठनलाई मजबुद बनाउँदै आगामी निर्वाचनसम्ममा ठूलो दलका रुपमा उदाउने लक्ष्य राखेको छ ।
‘सभापतिको अनुपस्थितिलाई ध्यानमा राखी पार्टीका गतिविधिहरु नियमित सञ्चालन भइरहेका छन्, जनताले पनि नयाँ साथ र शक्तिको अपेक्षा गरेकाले हामीलाई थप हौसला मिलेको छ, अर्यालले भने ।’