images

‘मलाई माफ गर’

“मलाई माफ गर”

कवि : हिमालचन्द्र बराल

तिमी मलाई प्रेमनिन्दक भन

वा प्रेमकाे साँवा अक्षर नजानेकाे

एउटा सिल्पट जन्तु ठान

तिमी याे पनि साेच्न सक्छाै कि

मसँग प्रेमकाे नाउँमा भ्रमकाे चास्नी छ

चाहे जे साेच तिमी स्वतन्त्र छाै

तिम्रो प्रज्ञाचक्षुलाई बेवास्ता गरेर

तिम्रो अाँखाकाे गाजलकाे मादकताबारे

म कुनै उट्पट्याङ गजल लेख्न सक्दिनँ

तिम्रा अाेठहरुले उच्चारण गर्ने

शब्दहरूकाे भावलाई भुलेर

तिमीले अाेठमा दलेको लालीकाे साैन्दर्यबारे

म कुनै श्रृङ्गारिक प्रेम कविता काेर्न सक्दिनँ

तिम्राे गिदीकाे गहिराइलाई नजरअन्दाज गरेर

तिम्रो केशराशीकाे लम्बाइ नाप्न

म समयलाई फजुल फिता बनाउन सक्दिनँ

भर्खरै तिमीले किनेको महङ्गो लुगामा

कस्तो देखिएको छु भनेर कृपया नसाेध

तिम्रो विचारकाे अस्त्रकाे सामर्थ्यलाई

अर्थहीन र मूल्यहीन मानेर

तिम्रो वस्त्रकाे तारिफमा कुनै मुक्तक काेर्न सक्दिनँ

प्रिय ! तिमीले पेन्सिल हिल लगाएर

बडाे मुस्किलले लचक लचक हिड्दा

तिम्रा पाइलाहरुकाे गन्तव्यलाई बुझ्दै नबुझी

तिम्रो कामुकतामा अल्झिएर

फगत तिम्रो देहकाे साैन्दर्यकाे तानाबाना बुन्न सक्दिनँ

तिमीले मेनकालाई माथ दियाै

उर्वशीले पनि अब त तिमीसँग

ब्युटीटिप्सकाे उपदेश लिनुपर्छ

तिमीभन्दा सुन्दरी याे धर्तीमा दाेश्राे छैन

यस्तो बकवास अाेकल्ने हरिलठ्ठक हुन मलाई मञ्जुर छैन

कर्मकाे करेसाबारीमा

सिर्जनाकाे मूल फुटाउन

तिमीले कति नङ्ग्रा खियायाै

पसिनाका कति बूँद बगायाै

यी सबै तथ्यबारे रहेर बेखबर

तिम्रो हिराजडित अाैंलाकाे काेमलताबारे

म निरस स्थायी अन्तराहरुमा डुल्न सक्दिनँ

तिम्रा उच्च ब्राण्डका नङपालिसका रङ्गहरुमा झुल्न सक्दिनँ

माेहनी पाेजमा खिचेका तस्बिरहरुमा

तिम्रो कलात्मकताकाे कल्पना गर्न कर नगर

मलाई स्वाङ्गे जिद्दी गर्दै नगर

तिम्रा परेलीका झिम्काइहरुमा

कम्मरका खिरिला छिनाइहरुमा

हाँस्दा खेरि खाल्टाे परेका डिम्पलहरुमा

अनुहारका कृत्रिम भावभङ्गिमाहरुमा

माेहकाे नशा पिएर खाेतल्न सक्दिनँ साैन्दर्यबिम्बहरु

तिम्रो ताइ न तुइका क्याट वाकमा

राेमान्सकाे अर्थ खाेज्ने व्यर्थ प्रयास गर्न सक्दिनँ

साैन्दर्यशास्त्रका विधिविधानहरु

जे जे भट्याउँछन् भट्याउँदै रहून

तिम्रो गालाकाे मध्यभागकाे काेठीले

तिम्रो सुन्दरतामा कति चारचाँद लगायाे भनेर

म काेरा भावुकता पाेख्न सक्दिनँ

तिमीमा चन्द्रमा र चन्द्रमामा तिमी देख्न सक्दिनँ

मलाई माफ गर प्रिया

तिम्रो चेतनाकाे जगतमा डुल्दै नडुली

तिम्रो चेतनाकाे जगतमा डुल्दै नडुली

तिम्राे विवेककाे बगैंचामा घुम्दै नघुमी

केवल तिम्रो मांसपिण्डकाे सुगन्धमा डुबेर

अात्माकाे निर्मलतामाथि अन्याय गर्दै

बेहाेशीकाे तालमा बेसुरा राग अलाप्न सक्दिनँ

मेरो सुन्दरताका भावनाहरु

तिम्रो प्रेमकाे परिभाषाभित्र परेनन् भने

मेरो अभिव्यक्तिले तिम्रो अहममा ठेस लागेछ भने

मलाई माफ गर प्रिय

कसैको झूटो मुस्कानकालागि

अथवा

कसैको नजरमा राम्रो देखिनखातिर

म अाफूलाई बदल्न सक्दिनँ !