images

१६ बुँदेपछि प्रचण्ड युगको पूरै अवसान

कुनै समय यस्तो थियो कि प्रचण्डको नाममा छुट्टै जादु छ कि भन्ने अनुभूति हुन्थ्यो धेरैलाई । नेपालको राजनीतिमा मात्र होइन, विश्व राजनीतिमै उनको स्थान आउला कि भन्ने धेरैको आशा नपलाएको पनि होइन । नेपालको बिग्रेको राजनीतिक प्रचण्डले सुधार्छन कि भन्ने आशा मूलतः दस वर्षे जनयुद्धले जगायो ।

प्रचण्डको प्रचार सुन्नेहरुमात्र होइन, स्वयम जनयुद्ध लड्नेहरु पनि कुनै समय प्रचण्डलाई एकचोटी भेट््न पाएर सहिद हुन पाए हुन्थ्यो भन्ने सपना बोक्थे । जनयुद्धको उचाइ जति बढ्दै गयो, त्यसको नेतृत्वको हिसाबले प्रचण्डको उचाइ पनि बढ्दै गयो । क्रान्तिकारी कार्यकर्ताहरुको समग्र त्याग, तपस्या, र बलिदान प्रचण्डमा केन्द्रित हुन गयो । जनयुद्ध रणनीतिक प्रत्याक्रमणको चरणसम्म आइपुग्दा नेपालको समग्र राजनीति प्रचण्डको वरिपरि केन्द्रित हुन पुग्यो । प्रचण्डको भाषामा भन्दा ज्ञानेन्द्रको लात र माओवादीको हातका कारण तत्कालीन सात दल र माओवादीबीच १२ बुँदे समझदारी सम्पन्न भयो । १२ बुँदे समझदारीपछि प्रचण्डको उचाई र चर्चा झनै बढ्यो । प्रचण्डको व्यक्तित्व यसरी स्थापित हुन पुग्यो कि मानौ प्रचण्ड भनेको कुनै अलौकिक दैवी शक्ति प्राप्त व्यक्तित्व हो । स्वयम व्यक्ति प्रकट नहुँदै बाहिर बनेको त्यो आशालाग्दो छाप साँच्चिकै महत्वपूर्ण थियो । तर, समय बदलियो । बाहिर बनेको विम्व, छाप र आशालाई प्रचण्डले प्रकट भएपछि बचाउन सकेनन् । शान्तिप्रक्रियामा उनको त्यो तस्बिर पूरै धमिलियो । रंग उड्यो तस्बिरको नरङ्गाइएको झै गरी ।

पहिलो संविधान सभाको निर्वाचनपछि प्रचण्डका वरिपरि सर्वहारा, मजदुर, किसान, जनता र तिनका सच्चा प्रतिनिधि होइन, कमिसनखोर, कालोबजारी, राजाको शासनकालमा गन्हाएका मान्छेहरुको भिड जम्मा हुँदै गयो । उनले जनयुद्धले उठाएका एजेण्डा क्रमशः छोड्दै तिनै दलाल, कमिसनखोर पुँजीपतिका एजेण्डा बोक्दै गए । हिटलरले जसरी एक अर्कामा बाझिने कुरा गथ्र्यो, त्यसैगरी प्रचण्डले बिहान एउटा कुरा, दिउसो अर्को कुरा र बेलुकी अर्कै कुरा गर्न थाले । आफ्नै तर्कलाई आफैले खण्डन गर्दै गएर उनले आफ्नो अस्थिर मानसिकता भुइभरि पोखे ।

प्रचण्डको यो कार्यशैलीप्रति पार्टीभित्र तीब्र अन्तरसङ्घर्ष सुरु भयो । क्रान्तिकारीहरुले प्रचण्डलाई छोड्दै जान थाले । प्रचण्ड सुध्रिनुको सट्टा जनयुद्धका उपलब्धीहरु संसदवादीहरुका अगाडि बिभिन्न वाहानामा बुझाउँदै जान थाले । विडम्वना यस्तो देखियो कि जनयुद्धका क्रममा प्रचण्ड स्वयमले दलाल, कायर भन्ने गरेका कायरहरुले नै शान्ति प्रक्रियामा प्रचण्डलाई ठूला ठूला मिडिया मार्फत ‘अघि बढ प्रचण्ड’ भन्ने कासन दिन थाले । प्रचण्डले उनीहरुको कासनलाई निसङ्कोच शिरोधार्य गर्दै गए । प्रचण्डले क्रान्तिकारीहरुमा विविध खालका भ्रम छर्दै गए । तर, दलालहरुको सल्लाहमा हजारौ जनता कार्यकर्ताको त्याग, तपस्या र बलिदानबाट बनेको जनमुक्ति सेनालाई आफ्नै हातले घाँटी निमोठ्दै गएर अन्ततः बिघटन गराए । चिनियाँ क्रान्तिका महानायक माओत्सेतुङले भनेका थिए ‘दुश्मनले गाली गर्दा म ठीक ठाउँमा छु भन्ने सम्झनु र दुश्मनले तारिफ गर्दा म बिग्रे भन्ने सम्झनु’ भन्ने आधारभूत कुरालाई पनि ख्याल नगरी प्रचण्डले क्रान्तिकारीहरुको अनुरोध भन्दा दलालहरुको तारिफमा चटकेले झै नाच्न सुरु गरे । फलस्वरुप दोस्रो संविधानसभाको चुनावमा प्रचण्डले नेतृत्व गरेको पार्टीले शर्मनाक पराजय व्यहोर्न पुग्यो । उनलाई ‘हिम्मत गर्नुस’ भन्ने मान्छेहरुले कांग्रेस एमालेलाई सहयोग गरे ।

चर्चा चुलिएका बेला प्रचण्ड यसरी आँखा नदेख्ने भएका थिए कि उनी जनतालाई केही कुरा पनि थाहा नपाउने भेडा बाख्रा जस्तो सम्झन्थे । उनलाई आफूले बाटो बिराएको कुरा जनताले देखिरहेका छन् भन्ने रत्तिभर लागेको थिएन । उनी त केवल दुई तिहाई बहुमतको सपना देखेर बसेका थिए । जुन कुरा उनले अहिले सायद सम्झिरहेको हुनुपर्छ । निर्वाचनमा शर्मनाक पराजय व्यहोरेपछि प्रचण्ड सुध्रिन्छन भन्ने भ्रम केहीलाई अझै थियो । त्यो कुरा पनि अब समाप्त भएको छ । २०७२ जेठ २५ गतेका दिन प्रचण्डले कांग्रेस र एमालेसँग मिलेर गरेको १६ बुँदे सम्झौतासम्म आउँदा त्यो सबै भ्रम चिरिएको छ । १६ बुँदे सहमतिको गुदी कुरा संसदीय व्यवस्थालाई सुदृढ गर्ने नै हो । जबकि जनयुद्धले उठाएको मुख्य एजेण्डा भनेको संसदीय व्यवस्थालाई ध्वस्त गर्ने थियो । तर, विडम्वना त्यही जनयुद्धका मुख्य नेता प्रचण्डले त्यो एजेण्डाको आफैले चिरहरण गर्न पुगे । त्यही एजेण्डामा बलिदान गरेका दसौ हजार मानिसहरुको प्रचण्डको यो कदमबाट ठूलो अबमूल्यन भएको छ । इतिहासले प्रचण्डसँग यसको हिसाब किताब माग्ने छ ।

१६ बुँदे सहमतिले महान जनयुद्धका सबै एजेण्डाहरुलाई समाप्त गरेको छ । प्रचण्ड नेतृत्वमा रहेका क्रान्तिकारीहरुमा प्रचण्डप्रति झन् ठूलो वितृष्णा जन्माएको छ । उनीहरुमा अलिकति बाँकी रहेको विश्वास पनि पूरै सकिएको छ । अन्ततः फेरि प्रचण्डसँगै मिल्न लागेका मोहन बैद्य र बादलको पछिल्लो प्रतिक्रियाले त्यो कुरा पुष्टि गर्छ । प्रचण्ड नेतृत्वको माओवादीमा रहेका क्रान्तिकारीहरुको सपनामाथि पनि यो सम्झौतबाट गम्भीर तुषारापात हुन पुगेको छ ।

वर्ग सङ्घर्षलाई छोडी जातीय सङ्घीयतालाई महत्व दिएका प्रचण्डले दोस्रो संविधानसभामा जातिवादीहरुको सहानुभूतिको भोट पाएका थिए । १६ बुँदे सहमतिले त्यो सहानुभूतिमा पनि आगो झोसेको छ । १६ बुँदे सहमतिले प्रचण्डप्रति जातिवादीहरुको समेत अब मोह भङ्ग भएको छ र उनीहरुले प्रचण्डको प्रयोग गर्ने र फ्याँक्ने दुर्नियत प्रष्ट बुझेका छन् । न त अब प्रचण्डसँग जनयुद्धका एजेण्डा छन्, नत जनयुद्धबाट आएको शक्ति छ, न त उनीसँग जाति जनजातिहरुको सहानुभूति छ । उनका बारेमा जन्मिएको सबै भ्रम साफ भएको छ । छ त केवल उनी आफैले आफ्नै बारेमा बोकेको भ्रम मात्र ।

चुनावमार्फत देशमा सबैभन्दा ठूलो पार्टी बनाएर संसदवादमा पौडी खेल्ने प्रचण्डको सपना अब पूरा हुने कदापी देखिदैन । जनयुद्धका सबै उपलब्धी र एजेण्डाहरु पनि उनी आफैले समाप्त गरेको हुनाले प्रचण्डको नेतृत्वमा अब नेपालमा वर्गसङ्घर्षका लागि कसैले पनि विश्वास गर्ने स्थिति छैन । १६ बुँदे सहमतिसम्म आउँदा न त जनताले विश्वास गर्ने स्थिति छ, न त क्रान्तिकारीहरुले विश्वास गर्ने स्थिति छ, न त जातिवादीहरुले विश्वास गर्ने स्थिति छ, न त संसदवादीहरुले नै विश्वास गर्छन । न त प्रचण्डका पछाडि जुझारु कार्यकर्ता र साङ्गठनिक संरचना नै छ । यस्तो अवस्थामा प्रचण्डले अझै पनि फेरि नेपाली राजनीतिको केन्द्रमा आउँछु भन्ने सोचेका छन् भने त्यो भनेको मुर्खले टेलिफोनको तार हेरेर तरुल खोजेजस्तो मात्र हो । अन्ततोगत्वा प्रचण्डले आफैलाई संसदवादी प्रतिक्रान्तिकारी कित्तामा पतन गराएका छन् र प्रचण्ड युगको समाप्त भएको छ ।

 

याे पढ्न छुटाउनुभयाे कि !

१६ बुँदेमा प्रचण्डकाे हस्ताक्षर : माअाेवादीकाे दुर्दशाकाे प्रमुख कडी

राजनीतिक स्खलनको यात्रामा जो जति माथिबाट खस्छ, ऊ त्यति नै बढी चकनाचुर हुन्छ