images

क्यानका अध्यक्ष सहित ५ पदाधिकारीको राजीनामा माग, कार्यसम्पादन समितिको निर्णय प्रति असन्तुष्टि

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग गरेका छन् ।

७ जना केन्द्रीय सदस्यहरुले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै अध्यक्ष चन्दसहित पदाधिकारीको राजीनामा मागेका हुन् । आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसको मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरुको आरोप छ ।

राजीनामा माग्ने केन्द्रीय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री,अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहेका छन् । कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्का रहेका छन् । क्यान अध्यक्ष चन्दले नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकार गरिसकेका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्ने ७ जना केन्द्रीय सदस्यले भने आफूहरुले बारम्बार सचेत गराउँदा पनि अध्यक्ष र कार्यसम्पादन समितिले जानाजान गलत निर्णय गरेको आरोप लगाएका छन् ।