images

विनोद चौधरीका भाइ अरुण पक्राउ प्रकरणकाे भित्री पाटाेः गृहमन्त्री पक्राउ गर्ने, प्रधानमन्त्री छुटाउने !

काठमाडौं– बाँसबारी छाला जुत्ता कारखानाको दश रोपनी जग्गा घोटाला प्रकरणमा माघ १८ गते बिहीवार उद्योगी अरुण चौधरी पक्राउ परे । उनी उद्योगी तथा सांसद विनोद चौधरीका भाइ हुन । देशकै ठूलो औद्योगिक घरानाका व्यक्ति एक्कासी पक्राउ पर्दा धेरै छक्क पनि परेका थिए ।

जस्तो सुकै अपराधमा पनि  सत्ता, शक्ति र पैसा भएका व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सक्दैन, उनीहरुलाई कारवाही हुँदैन भन्ने गलत सन्देश प्रवाह भइरहेका बेला चौधरीको पक्राउले केही आशाको सञ्चार समेत गराएको थियो । तर उल्टो यो घटनाले राज्यको उच्च संयन्त्रमा भने खैलाबैला मच्चाएको थियो ।

विडम्वना यो खैलाबैला फेरि पनि आम जनतामा सञ्चार भएको आशामाथि बज्रपात बनेर बर्सिएको छ । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार २३ गते बुधवार चौधरीसहित अन्य दुईजना रिहा भइसकेका छन् ।

कसरी पक्राउ परे चौधरी ?

विगत तीन महिनादेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाँसबारी छाला जुत्ता कारखानाको जग्गाबारे अनुसन्धान गरिरहेको थियो । सुरुमा यो अनुसन्धान चर्चित उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि केन्द्रित थियो । तर जग्गा उनका भाइ अरुण चौधरीको नाममा रहेको पाइएपछि अनुसन्धान उनीतर्फ मोडियो ।

स्रोतका अनुसार यसबीचमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धान छिटो सक्न र एक्सनमा जान प्रहरीलाई ताकेता गरिरहेका थिए । निर्देशनानुसार शुक्ष्म अनुसन्धान सकेर गृहको आदेश र पक्राउ पूर्जी समेत लिएर प्रहरी अरुण चौधरीलाई पक्राउ गर्न उनको निवास पुग्यो । यहाँसम्म यी सबै तयारीलाई गुपचुप राखिएको थियो ।

सूचना चुहिएपछि चौधरी भाग्न सक्ने र उच्च राजनीतिक तहबाट पक्राउ नगर्न दबाब आउने सम्भावनालाई मध्यनजर गर्दै पक्राउ गर्न पुग्दासम्म प्रधानमन्त्रीलाई पनि सूचना दिइएको थिएन । उता प्रहरी आँफुलाई पक्राउ गर्न आएको संकेत पाएलगत्तै चौधरी बाथरुम पसेका थिए ।

उनी धेरै बेर बाथरुमबाट ननिस्किएपछि प्रहरीले गृहलाई सो बारे जानकारी गरायो । गृहले बाथरुमको ढोका फोडेर भएपनि पक्राउ गरी ल्याउनु भन्ने आदेश दियो । चौधरीलाई पक्राउ नगर्न आउन सक्ने बाधा र दबाबका सबै किसिमका ढोका बन्द भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वयं प्रधानमन्त्रीलाई जानकारी गराउन पुगेका थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले त्यति सकारात्मक प्रतिकृया दिएनन् । प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेको सूचना र ढोका फोरेर भएपनि ल्याउनु भन्ने गृहको आदेश पाएपछि प्रहरीले चौधरीलाई पक्राउ गर्यो र अदालतबाट हिरासतमा राख्ने अनुमति लिएको थियो ।

प्रचण्डदेखि गंगासम्मको दबाब

घटनाक्रम यहाँ पुग्दासम्म देशमा खैलाबैला मच्चिसकेको थियो । आम मानिस उत्साहित थिए । तर सिंहदरबारको भने टाउको दुख्न थालिसकेको थियो । स्रोतका अनुसार चौधरी पक्राउ परेको ठिक दुई घण्टामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रहरीलाई फोन गरे र तुरुन्त छोड्न आदेश दिए । तर प्रहरीले तत्काल छोड्न नमिल्ने जवाफ दियो ।

गृहले निर्देशन दिएको, अदालतको पक्राउ पूर्जिसहित पक्राउ गरिएको र अदालतबाट हिरासतमा राख्न अनुमति समेत पाइसकेको अवस्थामा त्यतिबेलासम्म चाहेर पनि केही गर्न नसक्ने जवाफ पाएपछि प्रधानमन्त्रीले फोन राखे ।

केही समयमा प्रधानमन्त्री पुष्पकमल दाहालकी सुपुत्री एवं स्वकीय सचिव गंगा दाहालले फोन गरिन । “मलाई नसोधी किन पक्राउ गरेको रु” गंगाले रिसाउँदै सोधिन ।

गृहको आदेश र प्रधानमन्त्रीलाई समेत जानकारी भएकाले तपाईलाई सोधिरहनु नपर्ला जस्तो लागेर सोधेनौँ भन्ने प्रहरीको जवाफपछि गंगाले पनि रिसाउँदै फोन राखिन ।

जसरी पनि छुटाउने प्रपञ्च

कानूनी प्रकृयाका कारण प्रधानमन्त्रीको निर्देशनले समेत छुटाउन सक्ने अवस्था नभएपछि अदालतले हिरासतमा राख्न अनुमति दिएको अवधि सकिएपछि जसरी पनि अरुण चौधरीलाई छुटाउने प्रपञ्च सुरु भयो । अरुण चौधरीले प्रहरीसँगको बयानमा आँफुले नभएर दाइले गरेको भनेपछि नै विनोद चौधरी आत्तिइसकेका थिए । यता गृह प्रशासन अरुणबाट विनोदबारे थप सूचना लिएर उनलाई पनि पक्राउ गर्ने तयारीमा लागिसकेको थियो ।

यस्तो संकेत पाएका विनोद चौधरीका लागि भाइलाई जसरी पनि छुटाउनु अनिवार्य जस्तै भइसकेको थियो । अर्वपतिको सूचिमा रहेका विनोदको अन्तराष्ट्रिय छवि, पावर र पैसाबाट प्रभावित राज्य संयन्त्र चौधरी अनुकुल हुनु अचम्मको विषय भएन ।

अन्ततः उनी बुधवार काठमाडौँ जिल्ला अदालतको आदेशबाट अन्य दुईसहीत रिहा भए । त्यसो त सिआइबिले यसको अनुसन्धान जारी राख्ने भनिएको छ । तर यस्तो प्रभाव र दबाबको बीचमा अनुसन्धान कसरी अगाडि बढ्ला ? सहजै अनुमान गर्न सकिन्छ ।

“यो देशमा सरकार, नेता, कर्मचारी, न्यायालय सबका सब सेटिङमा चल्छन ।” विज्ञ तथा विश्लेषकहरुले विभिन्न माध्यमबाट गर्दै आएको यो विश्लेषण वास्तविकताबाट टाढा छैन भन्नेमा अब दुईमत रहेन । सेटिङ चौधरीको रिहाइमा पनि प्रत्यक्ष भएको छ ।

अनुसन्धान गर्न र दोषीलाई कारवाही गर्न एक्लो मन्त्री र मन्त्रालय तर दोषीलाई उन्मुक्ति दिन प्रधानमन्त्रीसहीत सिंगो राज्य संयन्त्र । यो देश कसरी चलिरहेको छ, कसले चलाइरहेको छ, कस्ताले चलाइरहेको छ, छर्लङ्ग भइसकेको छ । राजनीतिक नेतृत्व र न्यायालयलाई समेत विनोद चौधरीले कसरी प्रभावित गरे ? यदि यो देशमा असल राजनीतिज्ञ, प्रहरी अधिकारी र सञ्चार माध्यम छन भने यो एकदिन अवश्य उजागर होला ।

विनोद चौधरीका भाइ अरुण चौधरीलाई छोड्न प्रहरीलाई प्रधानमन्त्री दाहालको दबाब

भाई अरुण चौधरी पक्राउ परेसँगै विनोद चौधरीले गराए देउवाको ध्यानाकर्षण