images

१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा

काठमाडौं–पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभूत तत्त्वहरूलाई पहिलो प्राथमिकतामा राखेर १६ औँ पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन् ।
बिहीबार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । उनले भ्रष्टाचार न्युनिकरणलाई पहिलो प्राथमिकतामा दिनुले विश्वमा गलत सन्देश जाने भन्दै सुशासनका कुराहरूलाई जोड दिन र आर्थिक समृद्धिका कुरामा बढी आवश्यक रहेको बताए । उनले निरन्तर ५ प्रतिशत भन्दा माथि १० वर्ष हासिल गर्ने हो भने गरिबी १० प्रतिशत घट्ने दाबी गरे । कम लगानीबाट बढी प्रतिफल लिने बाटोमा जाने कुरामा ध्यान दिन आवश्यक रहेको पनि बताए । उनले संविधानमा लेखिएको समाजवाद उन्मुख राज्य प्रणाली निर्माणको आधार तयार गर्ने कुरा योजनामा समावेश गर्न केले रोकेको हो ? भन्दै प्रश्न गरे  । उनले सबैको एजेन्डालाई समावेश नगर्दा बजेटमा पहिलो चरणमा विरोध गर्नुपर्ने स्थिति सिर्जना हुने बताए । उनले समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेन्डा भएको पनि बताए । उनले बजेटमा समाजवाद उन्मुख राज्य प्रणाली भनेर लेख्ने तर पञ्चवर्षीय योजनामा चर्चा नै नगर्ने हो भने पहिलो चरणमा नै योजना भन्दा फरक बजेट बन्ने बताउनु भयो । उहाँले संविधानले आत्मसाथ गरेका विषयहरू, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरूलाई राम्रो र खुलेर समावेश गरेर जानुपर्ने बताए ।
उनले भने ‘यो योजना तर्जुमा गरिरहँदा मैले यसअघि पनि भनेकाे थिएँ, हामीलाई हाम्रो संविधानले नै भनेको हामी सबैले स्वीकारेको, संविधानमा लेखिएको समाजवाद उन्मुख राज्य प्रणाली निर्माणको आधार तयार गर्नेछौँ भन्ने कुरा लेख्नलाई केले छेक्यो होला ? त्यो मैले अहिले पनि बुझिराखेको छैन । त्यो हामी सबैको साझा एजेन्डा हो । समृद्ध नेपाल, सुखी नेपाली हामी सबैको साझा एजेन्डा हो । त्यही नारालाई अघि बढाउँदा कसैलाई काखा, कसैलाई पाखा हुँदैन थियो होला, त्यो लेख्न हामी किन हिच्किचाइ रहेका छौँ । हामीले संविधानमा जे—जे प्रण गरेका छौँ, त्यसलाई कार्यान्वयन गर्ने आवधिक योजना यही १६ औँ योजना हो । अब यसलाई अङ्कमा ढालेर लक्ष्य समेत राम्रोसँग तोकेर जाने मध्यकालीन खर्च योजना र वार्षिक योजना बन्छ । वार्षिक बजेट एक वर्षको बन्छ, त्यसलाई आवधिकमा दोहो¥याउनु पर्छ, पाँच वर्षको लागि सुनिश्चित गर्नुपर्छ विकासका रणनीति, उद्देश्य कार्यक्रम भनेर नै यो १६ औँ योजना बनाएको हो । भोलि बजेट लेखौँला हामीले समाजवाद उन्मुख राज्य प्रणाली निर्माण गर्ने भनेर योजनामा त्यसको कुनै लामो चर्चै गरेनौँ, समाजवादको आधार तयार गर्ने चर्चा नै गरेनौँ भने त बजेट त पहिलो स्टपमै योजना भन्दा फरक हुन्छ त । यदि त्यो लेखिएन भने बजेटको आलोचना त हामीले पनि गर्नुपर्ने हुन्छ । त्यसो भएकाले यस्ता कुराहरू हाम्रो संविधानले आत्मसाथ गरेका विषयहरूलाई, त्यहाँ भित्रका मौलिक हक, राज्यका सिद्धान्तहरूलाई राम्रो र खुलेर समावेश गरेर जाऔँ ।’
पूर्व अर्थमन्त्री डा. खतिवडाले देशको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार रहेको तर भ्रष्टाचार नै निमुर्ल गर्ने कुरा योजनाको पहिलो प्राथमिकतामा राख्नुले विश्वमा गलत सन्देश जाने बताए ।