काठमाण्डौ । लगातार दुई दिन बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ९७ अङ्कले घटेर दुई हजार सात सय ५० दशमलव ८७ विन्दुमा झरेको छ । आज जलविद्युत्, उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, रिभर फल्स पावर कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो आठ अर्ब ५२ करोडको कारोबार भएकोमा आज तीन सय २० वटा कम्पनीका दुई करोड तीन लाख कित्ता शेयर नौ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ ।