काठमाडौं । अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले आज शपथ ग्रहण गर्ने भएका छन् । दोस्रो कार्यकालका लागि ट्रम्पले नेपाली समय अनुसार आज राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।
अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन् । वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण भएपछि ट्रम्पले कार्यभार सम्हाल्ने छन् । शपथ ग्रहणपश्चात उनले आज सैनिक कवाज र परेड अवलोकन गर्ने छन् ।
शपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरू वासिङ्टन पुगेका छन् । कुल ५३८ सिटमध्ये ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट पाएका थिए ।
ट्रम्पको पुनरागमनसँगै अमेरिकी नीतिहरूमा परिवर्तन आउन सक्ने अनुमान राजनीतिक विश्लेषकहरूले गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पदभार ग्रहण गरेसँगै ट्रम्पले केही नियुक्ति र एक सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने, अध्यादेश ल्याउने तयारी गरेका छन् । ट्रम्पको चुनावी प्रतिबद्धतासँग सम्बन्धित विषयलाई कार्यादेशमा समेट्नेछन् । यस अगाडि सन् २०१७ मा पनि ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका थिए ।