images

उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिँदै

काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनको लागि दल दर्ता गर्ने समय आइतबार सकिँदैछ ।

चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनको लागि निर्वाचन आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ताको समय निर्धारण गरेको थियो ।

आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्दछ ।

आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । यसैगरी, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १, यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा क्षेत्र नम्बर २ र लामिछानेको सांसद पद गएपछि खाली भएको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।