images

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् ।

सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरू अलपत्र पर्दै आएको छ।

पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेश संसद्मा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन।

सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केही अध्यादेशमा समर्थन गर्न नसक्ने जनाएपछि  प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् ।

यसअघि सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कांग्रेस तथा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भूमिसम्बन्धी अध्यादेशबारे पुनः जसपा नेपाल र लोसपासँग छलफल गर्ने निर्णय गरेका छन् । अध्यादेशको बारेमा छलफल गर्न आज जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि केन्द्रीय कमिटी बैठक बोलाएको छ।