images

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा, बाढी बस्तीमा पस्दा बिचल्ली

काठमाडौं । निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । नदी तथा खोलाको सतह बढेर बस्तीमा पस्दा विभिन्न ठाउँका बस्ती डुबे भने, कोरिडोरको बाटो जलमग्न भयो । त्यस्तै राजधानीका अन्य क्षेत्रका सडक पनि खोलामा परिणत हुँदा आवतजावतमा समेत समस्या देखियो । हरेक वर्ष उपत्यकाका विभिन्न ठाउँ डुबानमा पर्ने गरे पनि समस्या समाधानका लागि पर्याप्त पहल भने भएको पाइँदैन ।

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्र हरेक वर्ष वर्षाको समयमा डुबानमा पर्ने गरेका छन् । सामान्य बर्षामा समेत डुबानमा पर्ने उपत्यकाका विभिन्न क्षेत्र मङ्गलवार पनि जलमग्न भए । विशेष गरी नदी तथा खोला किनारका बस्तीहरू डुबानमा परे । सोमबार राति देखि परेको निरन्तरको वर्षाका करण बागमती नदी किनारमा बसोबास गर्ने तथा व्यापार गर्ने नागरिकहरू समस्यामा परेका छन् । बाढी बस्तीमा पस्दा लाखौंको क्षति भएको छ ।

बाढीले कोरिडोरमा पानी भरिएपछि त्यहाँ चल्ने सवारी साधन ठप्प हुँदा प्रमुख सडकहरूमा सवारी साधनको चाप बढेको थियो । साना गाडी चल्ने कोरिडोर क्षेत्रमा डुबानले गर्दा आवतजावत रोकिएपछि मुख्य सडकमा सवारी जाम र ट्राफिक व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । बाढी तथा डुबान प्रभावित क्षेत्रका बासिन्दा भने बर्सेनि यही समस्या भोग्दै आएको बताउँदै सरकार व्यवस्थापनमा लापरबाही गर्दै आएको गुनासो पोख्छन् ।

नदी तथा खोला किनारका यी बस्तीहरू पहिलो पटक भने डुबानका परेका होइनन् । हरेक वर्षको बर्खा याममा डुबानमा पर्ने गरेका यी बस्ती व्यवस्थापनमा सम्बन्धित निकाय उदासीन बन्दा यो हविगत बर्सेनि दोहोरिने भने गरेको हो ।