काठमाडौं– नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । गुलशन झा र आकाश चन्दले एक–एक विकेट लिए ।त्यसअघि मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनका थिए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाएका थिए । टी–२० आईमा कुशल भुर्तेलको आठौं र सन्दीप जोराको दोस्रो अर्धशतक थियो ।
नेपाललाई ओपनर विनोद र कुशल भुर्तेलले ७।३ ओभरमा ६४ रनको सुरुवात दिलाएका थिए । विनोद भण्डारी २२ बलमा २ चौका र एक छक्कासहित २७, रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए । लोकेश बम ६ बलमा २ छक्कासहित १४ रनमा रन आउट भए । विवेक यादव ४ बलमा ३ छक्कासहित १९ रनमा नट आउट रहे । गुलशन झा १२ बलमा १ छक्कासहित १५ रनमा नट आउट रहे । सिरिजको अन्तिम खेलमा हङकङ र पपुवा न्युगिनी खेल्नेछन् । विजेता टिम फाइनल प्रवेश गर्नेछ ।