काठमाडौं– भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा नेपालले १ अंकको सुधार गरेको छ । भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक सीपीआईमा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको हो ।
गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक अंक बढी ल्याएका कारण नेपाल सुशासन हुने मुलुकहरुको बरियताक्रममा दुई अंक अगाडि आएको छ । गत वर्ष ११० औं स्थानमा रहेको नेपाल यसपाली १०८ औं स्थापनमा छ । ५० अंकभन्दा कम स्कोर गर्ने मुलुकहरुलाई सुशासनको क्षेत्रमा समस्यायुक्त रुपमा चित्रण गरिन्छ । ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरु गम्भिर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ । राजनीतिमा हुने भ्रष्टाचारको मापनमा नेपालको अवस्था सुध्रिएकाले नेपालले झिनो अंकमा प्रगति गरेको हो ।
सन् २०२३ को सीपीआईसम्बन्धी विवरण सार्वजनिक गर्दै ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अध्यक्ष पद्मिनी प्रधानांगले संसदमा विचाराधिन भ्रष्टाचार सम्बन्धी विधेयकलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् । यो प्रतिवेदन अनुसार नेपालको सुशासनको अवस्था नाजुक रहेको छ । १८० देश सम्मिलित यस सूचकांकमा डेनमार्क ९० अंक प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएका छन् ।