images

माओवादीको अभियान कार्यतालिका फेरि हेरफेर,  कुन जिल्लामा कहिले ?

काठमाडौं नेकपा माओवादी केन्द्रले  ‘जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान’ को समय तालिका हेरफेर गरेको छ ।  फागुन १२ देखि अभियान सञ्चालन गर्दै आएको माओवादीले बिहीबारदेखिको अभियान तालिका केही हेरफेर गरेको हो ।

जसअनुसार महोत्तरीमा आज अभियान भएर सर्लाहीमा फागुन २३, रौतहटमा फागुन २४, बारामा फागुन २५, पर्सामा फागुन २६, चितवनमा फागुन २७ गते अभियान सञ्चालन हुनेछ । यस्तै मगर मोर्चाको उद्घाटन बुटवलमा फागुन२८ हुने छ भने त्यसपछि नवलपुर (नवलपरासी पूर्व) मा चैत्र २, परासी (नवलपरासी पश्चिम)मा चैत्र ३, रुपन्देहीमा चैत्र ४, कपिलवस्तुमा चैत्र ५, दाङमा चैत्र ६, बाँकेमा चैत्र ७ र बर्दियामा चैत्र ८ गते अभियान सञ्चालन हुनेछ ।

चैत ९ गते समाजवादी मोर्चाको जनकपुरमा जनसभा हुने तय भएकाले सो दिन अभियान सञ्चालन हुनेछैन । यसैगरी कैलालीमा चैत्र ११ गते र कञ्चनपुरमा चैत्र १२ अभियान सञ्चालन भएर सकिनेछ । यसअघि चैत ७ मै सकिने भनिएको अभियान अब १२ गते मात्रै सकिने भएको माओवादीको भनाइ छ ।

फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् ।  अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम भएका छन् भने कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रमहरू आयोजना गर्ने गरिएको माओवादीले जनाएको छ ।

अभियान टोलीमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोली रहेका छन् । यस्तै सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक समेत अभियानमा सहभागी छन् ।

अभियानअनुसार यसअघि फागुन १२ गते झापापछि मोरङमा फागुन १३, सुनसरीमा फागुन १५, सप्तरीमा फागुन १६ र फागुन १७ गते सिरहा र धनुषामा आइतबार कार्यक्रम भएको थियो ।