images

रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु

 काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको चितवनको सहारा सहकारीको अभियोग दर्ता गर्ने जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलमाथि छानबिन सुरु भएको छ।

महान्यायाधिवक्ता कार्यालयले अभियोग पत्र दायर गरेको केही घण्टामै मंगलबार नै उनलाई सरुवा गर्ने निर्णय गरिसकेको छ। बुधबार छानबिनका लागि समिति गठन गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए।

लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयमा तानेर उच्च सरकारी वकिल कार्यालय बुटवलका रवि न्यौपानेलाई पठाइएको छ। समितिलाई अभियोजन पत्र अध्ययन गरेर प्रतिवेदन बुझाउन भनिएको छ।

नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो। अभियोजनमा त्रुटि भए नभएको यथासक्दो चाँडो प्रारम्भिक प्रतिवेदन बुझाउन भनिएको दाहालले बताए।

जिल्ला प्रहरी कार्यालय चितवनले रविसहितका प्रतिवादीहरूलाई ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलले रविलाई भने संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गर्दै अभियोग पत्र दायर गरेका थिए।

सहारा चितवन सहकारी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा ३२ जनालाई प्रतिवादी बनाइएकोमा जीबी राई, छविलाल जोशीसहित लाई संगठित अपराधमा पनि कसुरदार बनाइएको छ। तर लामिछानेलाई भने उक्त कसुर हटाइएको थियो।

मुद्दा कमजोर बनाएको आरोपमा लुइँटेललाई सरुवा गरेर अनुसन्धान अगाडि बढाइएको हो। आफूविरुद्ध ठगीको आरोपमा अभियोग दर्ता भएपछि लामिछाने बुधबार बिहानै अदालतमा हाजिर भइसकेका छन्। चितवन जिल्ला अदालतमा उनको बयान चलिरहेको छ।