images

गोविन्दराज जोशी र विकास कोइरालामाथिको कारबाही फुकुवा गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले कांग्रेस नेताहरू जोशी र कोइरालामाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

कारबाही फुकुवा गरिएका नेताहरुको पुरानै क्रियाशील सदस्यता कायम हुने पनि सहमहामन्त्री पाण्डेले बताए । ‘२०७९ अघिका निर्वाचनमा बागी उम्मेदवारी दिएका चितवन, तनहुँ र बाराका नेताहरूमाथिको अनुशासनको कारबाही पुरानै क्रियाशील सदस्य काययम हुने गरी फुकुवा गर्ने निर्णय बैठकले गरेको छ,’ उनले भने ।

चितवनका पूर्वसभापति कोइरालाले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध चितवन-४ मा बागी उम्मेदवारी दिएका थिए । बागी उम्मेदवारी दिएपछि कांग्रेसले २ कात्तिक २०७० मा कोइरालामाथि अनुशासनको कारबाही गरेको थियो ।

यस्तै, पूर्वसहमहामन्त्री जोशीले २०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका थिए । तर, भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेका जोशीले उम्मेदवारी दिएको भन्दै पौडेलले निर्वाचन आयोगमा उजुरी दिएपछि उनको उम्मेदवारी खारेज भएको थियो ।