images

ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिए

काठमाडौं । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् ।

शुक्रबार राति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत भएका थिए । नक्सा पास नै नगरी र आफूहरूसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि आफूहरूको घर समेत भासिएको स्थानीयको भनाइ छ । उनीहरूले आफूहरूको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् ।

सो निर्माणाधीन अपार्टमेन्ट वरपरका एक तला जति घरहरू भासिएका छन । डेरा गरेर बस्नेहरू सबै भागेको र आफूहरू पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन ।

अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दाबि छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरूलाई घरबासविहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।

यसैबीच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा। तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरूले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छिन् ।

शनिबार बिहान भासिएको घरहरूको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन् । सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चीरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिवद्धतासमेत व्यक्त गरिन् ।

अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरू भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन् । उनीहरूको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन् ।

सडकसमेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन् । उनीहरूले आफूहरूको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरूको पीडाको सुनुवाई नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । स्थानीयले दवाव दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य पनि रोकिएको छ ।