images

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज इटाली प्रस्थान गर्दैछन् । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज साँझ त्यसतर्फ प्रस्थान गर्न लागेका उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

कार्यक्रम साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ । प्रधानमन्त्री प्रचण्ड साउन ८ गते कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेसन्स फूड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा विशेष सम्बोधन गर्ने कार्यक्रम छ । अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही दिन नै प्रधानमन्त्री प्रचण्ड विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन् । उनी साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफल समेतमा सहभागी हुनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ ।

भ्रमण पूरा गरी प्रधानमन्त्री साउन १२ गते स्वदेश फर्किने कार्यक्रम तय गरिएको छ ।