images

निर्वाचन आयोगको निर्णयविरुद्ध रास्वपाका सांसदहरुले दिए रिट

काठमाडौं । निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम र गणेश पराजुलीले आफूहरुले कानुन अनुसार निर्वाचन खर्च विवरण बुझाउने र सार्वजनिक गर्ने गरिसक्दा पनि १५ हजार रुपैयाँ जरिवाना गरेको भन्दै रिट दिएका हुन् ।

निर्वाचन आयोगले कारबाही गर्नुपूर्व स्पष्टिकरण सोध्नुपर्ने र दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएको अवस्थामा मात्र कारबाही गर्नुपर्नेमा प्रक्रिया पूरा नगरी कारबाही गरेको उनीहरुले रिटमा उल्लेख गरेका छन् ।

निर्वाचन आयोगले हालै गत मंसिरमा भएको चुनावको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको थियो । त्यसमा रास्वपाका श्रेष्ठ, खनाल, पराजुली र गौतमको पनि नाम थियो ।

आयोगले उम्मेदवारको सूची सार्वजनिक गरेपछि कांग्रेस केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री एनपी साउद र कांग्रेस महामन्त्री गगन थापाले १५ हजार रुपैयाँ जरिवाना तिरेर खर्च विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।