images

आदिवासी जनजातिको हक हितका लागी सरकार प्रतिवद्ध छ : धनराज गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट कुनैपनि बेलामा पन्छिन नमिल्ने बताएका छन् ।

बुधवार अन्तर्राष्ट्रिय आदिवासी, जनजाति दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री गुरुङले आदिवासी जनजाति आयोगले कार्ययोजनाहरु बनाउनुपर्ने र त्यसको कार्यान्वयनका लागि सरकारले काम गर्ने बताए ।

उनले वर्तमान सरकार राज्यको भूमिका निर्वाह गर्ने कुनैपनि कुराबाट नपन्छिने उल्लेख गरे । मन्त्री गुरुङले आदीवासी जनजातिसँगै बसेर आदिवासी जनजातिका हकहीतसम्बन्धी कानून निर्माण र कार्यान्वयन गर्ने पक्षमा सरकारले सँगै रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री गुरुङले देशमा विविध संस्कृति, भाषाले आदिवासीलाई एउटा सुन्दर फूलबारी बनाइदिएको भन्दै यसलाई जोगाएर राख्न सक्नुपर्ने बताए ।