images

आज समाजवादी मोर्चाको सन्देश सभा हेटौँडामा

काठमाडौं । समाजवादी मोर्चाले आज हेटौँडामा सन्देश सभा आयोजना गर्ने भएको छ ।

७ वटै प्रदेशमा सन्देश सभा गर्ने मोर्चाको निर्णयअनुसार आइतबार हेटौँडामा सभा आयोजना हुने नेकपा एकीकृत समाजवादी बागमती प्रदेश अध्यक्ष सावित्री भुसालले जानकारी दिइन् ।

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा मोर्चाले सन्देश सभा आयोजना गर्ने समेत भुसालले जानकारी दिइन् ।

सन्देश सभा हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो २ बजे सुरु हुने उनको भनाइ छ ।

उनका अनुसार सन्देश सभामा प्रधानमन्त्री प्रचण्डसहित नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नेछन् ।

सन्देश सभाको संयोजन तथा आयोजना एकीकृत समाजवादीले गरेको र सभाको सम्पूर्ण तयारी पूरा भएको उनको भनाइ छ ।