images

अशोकराज सिग्देल रथी र सेवा लम्साल परराष्ट्रसचिवमा बढुवा

काठमाडौं। अशोकराज सिग्देल रथीमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बढुवा गरेको सरञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन । यसअघिको मन्त्रिपरिषद् बैठकमै सिग्देल बढुवाको फाइल सदर भए पनि रक्षामन्त्री पूर्णबहादुर खड्का विदेश भ्रमणमा रहेकाले उनी आएपछि मात्र माइन्युट गर्ने भनिएको थियो । त्यस्तै बैठकले सहसचिव सेवा लम्साललाई परराष्ट्र सचिवमा बढुवा गरेको छ ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल क्यानडाका राजदूत सिफारिस भएपछि लम्सालले निमित्त परराष्ट्र सचिवको रूपमा जिम्मेवारी सम्हालिरहेकी थिइन् । लम्साल नेपालको परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव बनेकी छिन् । लम्सालसँगै नेपाल सरकारको सचिवमा ९ जना महिला सचिव पुगेका छन् ।

बैठकले विद्युत खपत वृद्धि तथा खनिज, इन्धन न्युनिकरण सम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठक अघि सरकारको कार्यसम्पादनको चौमासिक समिक्षा पनि भएको थियो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री शर्माले सो समिक्षा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अनुपस्थित भएका कारण विस्तृत रुपमा छलफल हुन नसकेको जानकारी दिइन् । बैठकमा राखिएको प्रस्तुतिकरणका अनुसार चौमासिक समिक्षाको प्रतिवेदन सन्तोषजनक नदेखिएको उनको भनाइ छ ।