images

६ वर्ष अघि काठमाडौंको बल्खुमा एक महिला हत्या गरेकाे आरोपमा दुई जना पक्राउ

काठमाडौं । ६ वर्ष अघि काठमाडौंको बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अर्घाखाँचीको सितगंगा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ तल्लोपोखराका ४६ वर्षीय शिवराम अधिकारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

२०७४ साल पुष ३० गते काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित बोक्सिदह डाँडाँमा अन्दाजी ५० वर्षकी महिला टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला परिकी थिइन् । अनुसन्धानका क्रममा मृतक महिला नारायणी तिमल्सिना रहेको खुलेको थियो । सोही अपराधमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

अनुसन्धान अधिकृत, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरीका अनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विश्वकर्माको चिनजान घटना भएको दिनमा मात्रै भएको थियो । शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भुपु आर्मीसँग विवाह गराइदिन्छु भनि १५/२० हजार रुपैयाँ पैसा र गरगहना लगाई राम्रो भएर आउनु भनि फोन गरी बोलाएका थिए ।

माछापोखरी क्षेत्रमा ३ जनाको भेट भएपश्चात् २/३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु क्षेत्रमा बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । शिवराम अधिकारी र मृतक दुईघण्टा सँगै सुतेका थिए । सोही क्रममा अधिकारी र वि.क.ले ढुंगा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद ६/७ सय रुपैयाँ निकाली गाडी चढी गोंगबुको एक गेष्ट हाउसमा गइ बसेको र अर्कोदिन बिहान पूर्व जाने गाडी चढी फरार भएको प्रहरीले जनाएको छ ।
०००